काठमाण्डौ। जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डरदर घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्म २२ हजार ९९९ वटा अर्थात ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
पोलिसी सरेण्डर भएको संख्या गत आवको सोही अवधिसम्मको तुलनामा १८.०३ प्रतिशत कम हो भने पोलिसी सरेण्डर रकम ८.७९ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमाससम्म २८ हजार ५७ वटा पोलिसी बराबरको ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको थियो ।
नेपाल बीमा प्राधिकरण र जीवन बीमा कम्पनीहरुले पोलिसी त्याग गर्नेको सख्या घटाउन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । नियामक निकाय र जीवन बीमकहरुले विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा साक्षरता कार्यक्रम आयोजना गरी बीमा सचेतना फैलाइरहेका छन् ।
पोलिसी त्याग गर्नेको संख्या र रकम घटेपनि यता व्यतित बीमालेख संख्या र रकम भने गत आवको तुलनामा बढेको छ । सो अवधिसम्म नवीकरण नभएका बीमालेख संख्या १२ लाख २० हजार ५४८ पुगेको छ, जुन यो गत आवको तुलनामा १.८६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यस्तो संख्या ११ लाख ९८ हजार २९५ रहेको थियो ।
सो अवधिसम्म व्यतित बीमालेख रकम ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आवको तुलनामा ४.९८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यस्तो रकम ३५ अर्ब ७ करोड २० लाख रुपैयाँ थियो ।

