काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको पाँचौ दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ ।
सर्वोत्तमको सेयर मूल्यमा पाँचौ कारोबार दिन सोमबार पनि १० प्रतिशत हाराहारीमा मूल्य बढी अपर सर्किट लागेको हो ।
आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ८१.३० रुपैयाँले बढेर ८९५.१० रुपैयाँको उचाईमा पुगेको हो ।
लगातार चौथो दिनसम्म देखिएको यो कम्पनीको सेयरमा उच्च खरीद चाप सोमबार(चौथो दिन) केही कम देखिएकोमा पाँचौ दिन अर्थात मंगलबार भने बढेको देखिएको छ । सोमबार खरीदतर्फ ७ लाख ३७ जार ५१९ कित्ताको माग आएको थियो भने मंगलबार भने १० लाख भन्दा बढी कित्ताको माग आएको देखिएको छ ।
पहिलो तीन दिनमा भने यो कम्पनीको सेयरमा १७ लाखभन्दा बढी कित्ताका लागि लगातार खरीद चाप देखिएको थियो ।
सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।
यसरी लगानीकर्ताले आईपीओमा लगानी गरेको केही साताभित्रै सर्वोत्तम सिमेन्टको सेयरबाट १४८ प्रतिशतभन्दा बढी रिटर्न पाइसकेका छन् ।
सर्वोत्तम सिमेन्टको निकै कम कित्ता दोश्रो बजारमा कारोबारमा रहेकोले बलिया वित्तीय सूचक नहुँदा समेत मूल्यमा लगातार सर्किट लगाएको देखिन्छ ।
सर्वोत्तमको मूल्य रकेटको गतिमा दैनिक उडिरहेको बेला अन्य सिमेन्ट कम्पनीको मूल्य भने घटिरहेको छ । अरु सिमेन्ट किन्न छाडेर लगानीकर्ताहरु सर्वोत्तमकै पछि दौडिँदा यस्तो अवस्था बनेको हो ।