काठमाण्डौ । धितोपत्र बोर्डको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट पक्राउ परेका सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवालले हिरासतमै भोक हड्ताल सुरु गरेका छन् ।
उनका एक सहयोगीकाअनुसार अग्रवालले हिजो बेलुकादेखि नै केही नखाई अनिश्चितकालीन भोक हड्ताल सुरु गरेका हुन् ।
प्रहरीले हिजो अपरान्ह अग्रवाललाई काठमाण्डौको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि जोशी हाइडोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीको सेयरमा भित्री कारोबार गरी लाखौं कमाएको आरोप लगाइएको छ । धितोपत्र बोर्डले ती विषयमा गरेको अनुसन्धानको प्रारम्भिक जाँचबुझ प्रतिवेदनमा दोषी देखिएपछि थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई लेखी पठाएको थियो । बोर्डले पठाएको फाइलका आधारमा सीआईबीले उनलाई पक्रेको हो ।
हाल प्रहरी हिरासतमा रहेका उनले हिजो बेलुकादेखि नै भोक हड्ताल सुरु गरेका पारिवारिक स्रोतको दाबी छ ।
'आज हामी भेट्न गएका थियौं, उहाँले केही बोल्नुभएन ।' अग्रवालका एक सहयोगीले भने- 'प्रहरीले दिएको खाना पनि खानु भएको रहेनछ । हामीले लगिदिएको खाना पनि खानुभएन।'
ती सहयोगीका अनुसार आफूलाई जुन आरोपमा पक्राउ गरिएको छ, त्यस्तो काम गर्ने नेपालको सेयर बजारमा सयौं रहेका र तिनीहरुलाई पनि पक्राउ गर्नुपर्ने अग्रवालको माग छ । 'धितोपत्र बोर्डका अध्यक्षले व्यक्तिगत पूर्वाग्रह साँधेकोले पक्राउ गरिएको भन्ने उहाँको कुरा छ । यदि होइन भने आफूजस्ता अरुलाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै उहाँले भोक हड्ताल सुरु गर्नुभएको रहेछ ।' ती सहयोगीले भने-'हामी परिवारको तर्फबाट दीपेन्द्र दाईको जीवन रक्षाका लागि सरकारसँग अपील गर्दछौं ।'

