काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कुल सदर आवेदकमध्ये १८ हजार ४९५ जनालाई ५० कित्ताका दरले ९ लाख २४ हजार ७५० कित्ता सेयर बाँडफाँड गरिएको छ भने बाँकी १८ कित्ता सेयर १८ जनालाई थप एक/एक कित्ता बाँडफाँड गरिएको छ ।
सेयर पाउने भाग्यमानी लगानीकर्ताहरुमा यतिबेला कम्पनीको सेयरले पहिलो कारोबारको लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आईपीओले पहिलो कारोबारको लागि २४२.०५ रुपैयाँदेखि ७२६.१५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणा सम्म मूल्य तोक्ने गर्दछ ।
यो कम्पनीको आव २०७९/८० को वास्तविक प्रतिसेयर नेटवर्थ (सम्पत्तिमा पुर्नमूल्याङ्कन जगेडा र सेयर प्रिमियम बाहेक) २४२.०५ रुपैयाँ रहेको छ । तर कम्पनीको नेटवर्थ आव २०८०/८१ भने घटेर २१२.११ रुपैयाँमा कायम हुने कम्पनीले प्रक्षेपण गरेको छ ।
त्यस्तै, आव २०८१/८२ मा २२५.१२ रुपैयाँ र आव २०८२/८३ मा भने बढेर २५९.१५ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि प्रतिसेयर ८२०.८० रुपैयाँका दरले ९ लाख २४ हजार ७ सय ६८ कित्ता निष्कासन गरेको थियो । उक्त आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्ने व्यवस्था थियो ।

