काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई औषधिको न्यूनतम दररेट दाबी गर्ने सम्बन्धमा स्पष्ट निर्देशन जारी गरेको छ। बोर्डका अनुसार सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेट २०८१ बमोजिम औषधिका लागि तोकिएको दररेटभन्दा अस्पतालको आन्तरिक दररेट न्यून भएमा सोही अस्पतालको दररेट दाबी गर्नुपर्नेछ।
त्यसैगरी, अस्पतालको दररेट सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेट २०८१ अनुसारको दररेटभन्दा बढी भएमा बोर्डले तोकेको दररेटअनुसार मात्र दाबी गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आवश्यक गृहकार्य गर्न आग्रह समेत गरेको छ। यस निर्देशनले औषधि दाबी प्रक्रियामा पारदर्शिता, एकरूपता र खर्च नियन्त्रणमा सहयोग पुग्ने विश्वास बोर्डले व्यक्त गरेको छ।


