काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.९० अंकले बढेर २ हजार ६३९.९१ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले बढेर ४५४.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४९ वटा स्क्रिप्टको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार नयन बास्तोला भन्छन्, ‘अझैपनि लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न नसकेको अवस्था छ । चुनावी माहोल बन्दै गएपनि ठूला राजनीतिक दलहरुमा देखिएको विवाद र समस्याले समयमै चुनाव नहुने होकी भन्ने अन्योलताले लगानीकर्ताहरु खुलेर बजारमा लगानी गर्न सकिरहेका छैनन् । आज बजार सामान्य बढ्दा कारोबार पनि बढेको छ । मार्केट माथि जान खोजिरहेको जस्तो त देखिन्छ तर ठूलो अंकको स्विङ नदेखिदा केही दिनसम्म बजारमा स–सानो उतारचढाव मात्रै देखिन सक्छ । जबसम्म बजारमा रहेको राम्रा कम्पनीहरु बढ्दैनन् र वाणिज्य बैंक समूहमा सुधार देखिदैन तबसम्म बजार ठूलो अंकले बढ्ने सम्भावना कम छ । अब माघ ६ गते मनोनयन दर्ता सकिएपछि बजारले लय समाउछ भन्ने विश्वास छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्यो । यस्तै लगानी समूह ०.०४ प्रतिशत, म्युचुअल फण्ड ०.४१, निर्जीवन बीमा ०.०९, अन्य ०.७८ र व्यापार ०.९८ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.४१ अंकले बढ्यो ।
होटल समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.४८ प्रतिशतको गिरावट आयो । बैंकिङ समूह पनि आज ०.१४ प्रतिशत, फाइनान्स ०.२९, होटल ०.४८, जीवन बीमा ०.१७,उत्पादन तथा प्रशोधन ०.२३ र लघुवित्त ०.२० प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५४ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, एसवाई प्यानलको ३४ करोड ८१ लाख, बुटवल पावरको २८ करोड १३ लाख र श्रीनगर एग्रीटेकको २६ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज थ्रिस्टार होटलको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यसैगरी, आज दोर्दी खोला जलविद्युतको सेयरमूल्य ९.३८ प्रतिशत, सुपर मादी हाईड्रोपावरको ९.०७ र राप्ती हाईड्रोको सेयरमूल्य ५.६६ प्रतिशतले बढ्यो ।
रसुवागढी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.०९ प्रतिशतले घट्यो। नारायणी डेभलपमेन्टको सेयरमूल्य पनि आज ४.४४ र विन नेपाल लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले बढ्यो ।

