बुधबार, श्रावण १३,२०८३ 01:19:16
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:19:16
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोमा चुनावी बहसः लगानीकर्ताको चिन्ता-‘समयमै नभए बजार डामाडोल हुन्छ’

ग्राउण्ड जिरोमा चुनावी बहसः लगानीकर्ताको चिन्ता-‘समयमै नभए बजार डामाडोल हुन्छ’
New Office

काठमाण्डौ । हरेक आइतबार नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ मार्फत सेयरबजारको वास्तविक अवस्था र लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गर्दै आएका छौँ । आज पनि सोही क्रममा अनामनगर र बानेश्वर क्षेत्रका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीसँग संवाद गर्‍यौँ । समग्र बजारभन्दा बढी आजको बहसको केन्द्र राजनीतिक अस्थिरता र आसन्न निर्वाचन थियो ।

सबैभन्दा पहिले हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) पुग्यौँ । त्यहाँ लगानीकर्ताको उल्लेख्य उपस्थिति थियो । सँधैझैं राजनीतिक विषयमै चर्चा थियो । नेपाली कांग्रेस विभाजनको प्रसंगले बजारमा पार्ने प्रभावबारे तीव्र बहस चलिरहेको देखिन्थ्यो ।

एक लगानीकर्ताले माघ ६ पछि निर्वाचन आयोगमा उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै बजारमा सकारात्मक संकेत देखिन सक्ने तर्क गरे । उनले भने, “पर्सिदेखि बजारले अलि गति लिएको जस्तो छ । आजको अवस्था हेर्दा मार्केट विस्तारै लय समात्दैछ । दर्ता प्रक्रिया सकिएपछि बजार एक हिसाबले माथि जानसक्छ।”

उनको भनाइमा अर्का लगानीकर्ताले समर्थन जनाउँदै थपे,
“बजारले त्यस्तै संकेत त देखाइरहेको छ, तर नेपालको राजनीति अनिश्चित छ । अझै ठोकुवा गर्न सकिने अवस्था छैन ।”

यद्यपि सबै स्क्रिप्ट बढिरहे पनि नागरिक लगानी कोषको सेयरभाउ नबढेकोप्रति अर्का एक लगानीकर्ताले असन्तुष्टि जनाए।

त्यही क्रममा अर्का लगानीकर्ताले समाचार पढ्दै भने,
“देउवा पक्षको सुनुवाइ नहुने भन्ने खबर आएको छ रे, अब शेरबहादुर देउवाको के होला ?”
जवाफमा अर्का लगानीकर्ताले भने,“अब के हुनु, सबै गगन थापातिरै गएर टिकट माग्छन्, यही त हो नेपालको राजनीति ।”

एकछिनपछि एकजना पाका लगानीकर्ताले मोबाइलमा आएको म्यासेज हेर्दै मुस्कुराउँदै भने,“फेरि कुन कम्पनीले डिभिडेन्ड पठाएछ । यसरी धमाधम डिभिडेन्ड आउँदा पनि लगानी गरेको सार्थक लाग्दो रहेछ ।”

अन्तिम सिटमा बसेका लगानीकर्ताले बजार स्थिर रूपमा बढ्नु नै दीर्घकालीन रूपमा स्वस्थ हुने धारणा राखे ।
“बजार ह्वात्तै बढ्नु राम्रो होइन । स्थिर रूपमा माथि जान सके राम्रो हुन्छ । ठूलो उतारचढाव देखाउने बजार धेरै टिक्दैन,” उनले भने ।

त्यसपछि हामी अनामनगरकै आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) पुग्यौँ । यहाँ पनि लगानीकर्ताबीच चुनावी माहोल र राजनीतिक परिस्थितिबारे छलफल चलिरहेको थियो । ‘चुनावले बजार कता लैजान्छ ?’ भन्ने कौतुहलता सबैमा देखिन्थ्यो ।

अन्त्यमा हामी बानेश्वरस्थित नागरिक स्टक डिलर (ब्रोकर नं. ६०) पुग्यौँ । बाहिर घाम ताप्दै गफ गरिरहेका लगानीकर्तामध्ये एक जना महिला लगानीकर्ताले बन्दीपुर केबलकारको सेयर किन्न नपाएको गुनासो गरिन् ।

भित्र स्क्रिन बोर्डतर्फ लाग्दा युवालगायत लगानीकर्ताहरू विभिन्न स्क्रिप्टबारे चर्चा गरिरहेका थिए । एक जना युवा लगानीकर्ताले चुनाव समयमै नहुने आशंका व्यक्त गर्दै भने,“नेपाली कांग्रेसमा देखिएको समस्याले चुनाव समयमै नहुने हो कि भन्ने डर छ । यस्तै भयो भने भोलि सेयरबजार ह्वात्तै घट्न सक्छ ।”

उनकै छेउमा बसेका अर्का युवाले थपे,“फागुनमै चुनाव नभए चैतमा पनि गाह्रो हुन्छ । वैशाखतिर सर्छ कि भन्ने अवस्था छ । चुनाव लम्बिँदै गयो भने बजार डामाडोल हुन्छ ।”

समग्रमा नागरिक स्टक डिलरमा लगानीकर्ताको ध्यान फाइनान्स सेक्टरतर्फ केन्द्रित देखिन्थ्यो । सस्तो मूल्य भएका फाइनान्स कम्पनीको सेयर उठाउँदा फाइदा हुन सक्ने आँकलन उनीहरू गर्दै थिए ।

राजनीतिक अनिश्चितता र चुनावी अन्योलबीच लगानीकर्ता बजारको दिशाबारे उत्सुक मात्र होइन, चिन्तित पनि देखिन्थे । समयमै चुनाव र स्थिर राजनीतिक वातावरण नै बजारको लागि निर्णायक हुने निष्कर्षमा उनीहरू पुगेका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.