काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र संगठनात्मक कौशल प्रदर्शन गर्न हिउँदे उत्सव ‘विन्टर फेष्ट’ आयोजना गरेको छ ।
यो कार्यक्रम विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकतासहित उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजले बताएको छ ।
कलेजका अनुसार उत्सवमा विद्यार्थीले योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक पक्षको जिम्मेवारी लिएका थिए ।
यो पटकको विन्टर फेष्टले विद्यार्थीलाई समग्र सिकाइ अनुभव प्रदान गरेको बताइएको छ । विन्टर फेष्टले, विद्यार्थीको क्षमता तिखार्दै, जीवनका चुनौती सामना गर्न आत्मविश्वास भरेको कलेजको विश्वास छ ।
कलेजका अनुसार कार्यक्रमको अवधारणादेखि कार्यान्वयनसम्मका योजना छनौट, बजेट निर्माण लगायतका पक्षको सबै जिम्मेवारी विद्यार्थीलाई दिइएको थियो ।
विद्यार्थीलाई परम्परागत कक्षाकोठाको चौघेराभन्दा बाहिर जाने व्यावहारिक सीप प्रदान गरेको लर्डबुद्ध एजुकेशन फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले जानकारी दिए ।