काठमाण्डौ । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने निश्चित भएपछि सेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति अरबौंले बढेको छ ।
चुनावी माहौल बनेसँगै सेयर बजारमा लगानी गर्नेहरुको सम्पत्ति २ खर्ब ३० अर्बभन्दा बढीले वृद्धि भएको देखिएको हो ।
आठ कारोबार दिनअघि नेपाल स्टक एक्सचेञ्जको कुल बजार पूँजीकरण ४४ खर्ब २४ अर्ब रहेको थियो । यो आइतबार बढेर ४६ खर्ब ५४ अर्बको उचाईमा पुगेको हो । यसरी हेर्दा जम्मा पछिल्लो आठ कारोबार दिनमा बजार पूँजीकरणमा २ खर्ब ३० अर्बको बढोत्तरी देखिएको छ ।
यो अवधिमा नेप्से परिसूचक पनि २६३५ बाट बढेर २७७२ को उचाईमा पुगेको छ । यसरी हेर्दा ८ कारोबार दिनमै नेप्से परिसूचक पनि १३७ अंकले बढेको छ ।
बजार जानकार तथा विश्लेषकहरुका अनुसार पुस मसान्तको दवाब सकिएलगत्तै चुनाव समेत समयमै हुने निश्चित भएपछि राजनीतिक स्थिरता हुने आशाले लगानीकर्ताहरुको मनोबल ह्वात्तै बढेको देखिन्छ । यहीकारण नेप्से परिसूचकसँगै कारोबार रकममा पनि लगाता सुधार भइरहेको छ । लामो समयसम्म पर्ख र हेरको रणनीतिमा रहेका संस्थागत तथा ठूला लगानीकर्ताहरु समेत रणनीति बनाएर बजार प्रवेश गर्न थालेपछि माहौल तात्दै गइरहेको छ ।
यो उत्साह र उच्च मनोबल कायम रहेको खण्डमा नेप्से परिसूचक चाँडै ३ हजार विन्दू माथि पुग्ने र कारोबार रकम पनि दैनिक २५ अर्ब माथि पुग्न थाल्ने विश्लेषकहरुको दाबी छ ।

