काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको् दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको खुद ब्याज आम्दानीसँगै खुद नाफामा सुधार आएको छ। संस्थाले यो अवधिसम्म ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०४.८३ प्रतिशतले बढी हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि ७३.१९ प्रतिशतले बढेर ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड २१ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा ४ करोड ८७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यस्तै रिटेन्ड अर्निङ पनि २ करोड ८७ लाखबाट बढेर ४ करोड ४० लाख पुगेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ। संस्थाको खराब कर्जा अनुपात १.७४ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको छ ।
संस्थाले समीक्षा अवधिसम्म ५३ करोड ८५ लाख निक्षेप संकलन र २ अर्ब १४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ४० लाख र लाभांश क्षमता ३५.९६ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५१.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.०१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८३२.५२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३४.३७ गुणा र तरलता अनुपात १०.५६ प्रतिशत कायम भएको छ ।

