काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ ।
कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ११ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।
उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ निष्कासन गर्ने,यससम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले १ अर्ब ६१ लाख ७० हजार रुपैयाँबराबरको रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष(सीआईटी)लाई नियुक्त गरेको छ ।
युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साढे ६७ करोड रुपैयाँ लगानी रहेको छ ।
ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवाखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

