काठमाण्डौ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १४.४२ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले समीक्षा अवधिमा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आवमा ११ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा २३ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ, जुन ९८.१८ प्रतिशतले बढी हो।
त्यसैगरी, कम्पनीको कुल आम्दानी पनि वृद्धि भई १५ करोड ३ लाख रुपैयाँबाट बढेर ३० करोड २० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ६१.७५ प्रतिशतले बढी हो।
कम्पनीको कुल खर्च समेत बढेको देखिन्छ। चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च २८ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो आवमा १३ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो।
कम्पनीले रिटेन्ड अर्निङ कोषमा २ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३९ लाख १० हजार रुपैयाँ सञ्चित गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७ लाख ३४ हजार ९०९ वटा बीमालेख जारी गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.२३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६४.४४ रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ४८१.२८ गुणा कायम भएको छ।

