काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दाबी भुक्तानी र खर्च बढेको अवस्थामा पनि नाफा वृद्धि गर्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२९ प्रतिशतले बढी हो।
बीमा व्यवसाय विस्तारसँगै कम्पनीको खुद बीमाशुल्क आर्जन ११.४० प्रतिशतले वृद्धि भई ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म यो रकम ४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो। बीमाशुल्क वृद्धिले कम्पनीको आम्दानी संरचना बलियो बन्दै गएको संकेत गर्छ।
यस अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च ५ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ। खर्चतर्फ विशेषगरी दाबी भुक्तानीमा वृद्धि देखिएको छ। कम्पनीले ५ अर्ब २३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढी हो। यसले बीमितको संख्या र दाबी दायरा दुवै विस्तार भएको देखाउँछ।
कम्पनीको महाविपत्ति कोष ३१ करोड ३८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ९१ करोड ९० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ लाख ६३ हजार ५७० वटा बीमालेख जारी गरेको जनाएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.५४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२८.७३ रुपैयाँ र पीई अनुपात ४४.९४ गुणा कायम भएको छ ।

