काठमाण्डौं । नेपालका लगानीकर्ताहरुले लामो समय पूँजी बजारमा बुल नदेखे पनि अब नेप्सेको प्राँगणमा भने छिटै बुल देख्न सक्ने भएका छन् । नेप्सेले आफ्नो प्रांगणमा बुलको प्रतिमा राख्ने तयारी गरेको छ । बुल निर्माणको काम ललितपुरको पाटनमा धमाधम भईरहेको छ नेप्से प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् ।
उक्त प्रतिमा नेपाली कालीगढको समूहले निर्माण गरिरहेको छ । ‘नेप्सेको प्रांगणमा यहि आर्थिक वर्षभित्र राख्ने गरी बुल निर्माणको काम भईरहेको छ । अब छिट्टै नै नेप्सेमा बुलको आगमन हुनेछ ।’ प्रवक्ता मुराहरि पराजुलीले विजशालासँग भने । बुलको निर्माण ढलौटबाट भईरहेको र यसको उचाई ६ फिट र लम्बाई ८ फिट रहने पराजुलीले बताए । बुलको तौल भने ६ टनको हुनेछ ।
लगानीकर्ताले लामो समय देखि नेप्सेमा बुल राख्नु पर्ने माग राख्दै आएका थिए । विश्वका अन्य सेयर बजारमा पनि सेयर बजारको प्रतिकात्मक रुपमा बुलको प्रतिमाहरु राख्ने प्रचलन रहेकोमा नेपालमा पनि यसको सुरुवात गर्न लागिएको नेप्से प्रवक्ता मुराहरि पराजुलीले बताए । पछिल्लो समय केही ब्रोकर हाउसहरुले पनि आफ्नो ब्रोकर हाउसमा बुलको प्रतिमा राख्न थालेका छन् । नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ ले आफ्नो नयाँ भवन बने पछि सबैले देख्ने गरि बुलको प्रतिमा राखेको छ ।
बुललाई बजार बढेको संकेतको रुपमा लिइने गरिन्छ ।
किन र कसरी राखियो वालस्ट्रिटमा बुलको तस्बिर ?
वीकिपिडियाका अनुसार सन् १९८७ मा अमेरिकी सेयर बजार वालस्ट्रिट स्टक मार्केट् क्यास हुँदा यसलाई ब्ल्याक मनडेको नाम दिइएको थियो । त्यस पछि १४ डिसेम्बर १९८९ मा एक इटालियन कलाकारले अवैधानिक रुपमा बुलको प्रतिमा न्यूर्योक स्टक एक्सचेञ्ज अगाडी राखे । जसलाई त्यहाँ स्थित प्रहरी प्रशासनले हटाएको थियो । तर पछि २० डिसेम्बरमा १९८९ मा नै त्यसलाई अस्थाइ रुपमा राख्न त्यहाँको प्रशासनले अनुमति दियो । केही समयमा नै यो पर्यटकका लागि आकर्षण बन्न पुग्यो ।
त्यस पछि भने यसलाई हालसम्म पनि न्यूर्योक स्टक एक्सचेञ्जमा राखिएको छ । जसको उचाइ ४.९ मिटर रहेको छ भने ३ हजार २०० किलो ग्राम रहेको छ । पछि तिनै व्यक्तिले जर्मन र फ्रान्समा पनि बुलको प्रतिमा निर्माण गरेका थिए । अमेरिकामा पर्यटकको आकर्षण बढेपछि डी मोडिकालाई ३ लाख ६० हजार अमेरिकी डलर पुरस्कार पनि दिइएको थियो ।
यस्तो बन्दैछ नेप्सेमा राख्ने बुलको प्रतिमा :