काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि फागुन १२ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
निष्कासनमध्ये २ लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ।
साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते प्रतिकित्ता रु. १०० अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो।
उक्त स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ। दोस्रो चरणअन्तर्गत अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागिएको हो।

