काठमाण्डौ । भारतको केन्द्रीय विद्युत् प्रसारण संस्था Power Grid Corporation of India (PGCIL) ले सीमापार उच्च भोल्टेज विद्युत् प्रसारण परियोजनाका लागि Litmus Industries Limited लाई आपूर्तिकर्ताको रूपमा स्वीकृति दिएको छ। यससँगै लिटमस इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण लाइनका लागि छनोट हुने एकमात्र नेपाली उत्पादक कम्पनी बनेको छ ।
पीजीसीआईएलसँग भएको सम्झौताअनुसार लिटमस इन्डस्ट्रिजले ४०० केभी क्षमताका ACSR Moose Conductors कुल २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ। यी कन्डक्टर नेपाल–भारत सीमापार जोडिने ढिडिङ–ढल्केबर–बथनाहा प्रसारण लाइनमा प्रयोग हुनेछन्, जुन ९०० मेगावाट क्षमताको Arun-3 Hydropower Project सँग सम्बन्धित प्रमुख प्रसारण पूर्वाधार हो ।
यो परियोजनामार्फत पहिलो पटक नेपालमै ४०० केभी ACSR Moose Conductors उत्पादन हुन लागेको हो, जसलाई नेपालको औद्योगिक तथा प्रविधिगत क्षमतामा ठूलो फड्कोका रूपमा हेरिएको छ। परियोजना स्वीकृत गर्नुअघि पावर ग्रिडले लिटमस इन्डस्ट्रिजको उत्पादन कारखानामा विस्तृत प्राविधिक निरीक्षण गरेको थियो। उत्पादन प्रक्रिया, क्षमता, गुणस्तर परीक्षण प्रणाली र पूर्वाधारको गहन मूल्याङ्कनपछि कम्पनीलाई योग्य ठहर गरिएको हो ।
ढल्केबर–बथनाहा प्रसारण लाइन नेपाल–भारतबीचको ऊर्जा व्यापार विस्तारका लागि महत्वपूर्ण मानिन्छ। यसले नेपालको ऊर्जा सुरक्षालाई मजबुत बनाउनुका साथै औद्योगिक विकास र विद्युत् निर्यातको बाटो खोल्ने अपेक्षा गरिएको छ।
लिटमस इन्डस्ट्रिज यसअघि पनि नेपाल विद्युत् प्राधिकरणको हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण परियोजनाका लागि ४०० केभी ACSR Moose Conductors ३,६०० किलोमिटर आपूर्ति गरिसकेको अनुभवी कम्पनी हो। पछिल्लो स्वीकृतिले कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरको विश्वसनीय आपूर्तिकर्ताका रूपमा स्थापित गरेको छ भने नेपाली उद्योगको सीमापार पूर्वाधारमा बढ्दो उपस्थितिलाई समेत उजागर गरेको छ।
चार दशकभन्दा बढी समयदेखि तार, केबल र कन्डक्टर उत्पादन गर्दै आएको लिटमस इन्डस्ट्रिज नेपालकै अग्रणी औद्योगिक कम्पनीमध्ये एक हो। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन गर्दै आएको छ।

