काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २.५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको जनाएको छ। कम्पनीको गत मंसिर २५ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो ।
कम्पनीका अनुसार साधारण सभा प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक (डिम्याट) रुपमा सेयरधारण गरेका सेयरधनीहरुको हितग्राही खातामा फागुन ५ गतेदेखि नै बोनस सेयर जम्मा गरिसकिएको छ।
यस्तै, हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने सेयर अभौतिकीकरण सम्पन्न भएपछि स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ। त्यसका लागि सम्बन्धित सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ।
बोनस सेयरसम्बन्धी थप जानकारीका लागि कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पर्क गर्न सकिने जनाइएको छ।
साथै, अघिल्ला आर्थिक वर्षहरुमा वितरण गरिएको नगद लाभांश हालसम्म प्राप्त गर्न बाँकी रहेका सेयरधनीहरुलाई आफ्नो बैंक खाता विवरण यकिन गरी हितग्राही खातामा अद्यावधिक गराउन समेत कम्पनीले आग्रह गरेको छ।

