काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर सेयर लगानीकर्ताहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।
आज हामीले न्यूप्लाजा, घट्टेकुलो र अनामनगरमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । चुनाव माहोलका कारण अधिकांश ब्रोकर हाउस आज सुनसान देखिन्थे । सँधै लगानीकर्ताको बाक्लो उपस्थिति हुने ब्रोकर हाउसहरुमा पनि आज सामान्य उपस्थिति देखिन्थ्यो ।
बजार खुलेको केही समयमा नै नेप्से परिसूचक घट्न थालिसकेको थियो । सर्वप्रथम हामी न्युप्लास्थित दिव्या सेक्युरिटिज (ब्रोकर नं. ५९)मा पुग्यौं । तर उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति नरहेकाले एकपछिनपछि हामी उक्त ब्रोकर हाउसबाट फर्कियौं ।
त्यसपछि हामी घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४ंमा पुग्यौं । सेयरबजारमा दोहोरो अंकको गिरावट आइसकेको थियो । उक्त ब्रोकरमा लगानीकर्ताहरको उपस्थिति सामान्य नै देखिन्थ्यो । सँधै बाक्लो उपस्थिति रहने उक्त ब्रोकर आज सुनसान जस्तै नै थियो । एकैछिनपछि दुईचारजना लगानीकर्ताहरु आए र गफिन थाले ।
चुनावको प्रभाव अधिकांश ब्रोकर हाउसमा देखिएको थियो । भिजन सेक्युरिटिजमा पनि लगानीकर्ताहरु फाट्टफुट्ट मात्रै उपस्थित देखिन्थे । नेप्से परिसूचक १९ अंकले घटेको थियो । एकजना लगानीकर्ताले लामो समयसम्म सेयरबजार घटबढ नभएको भन्दै स्क्रिन बोर्डमै समस्या आएको होकी भन्ने जिज्ञासा व्यक्त गरे ।
अर्को एकजना लगानीकर्ताले भने हिजो इरानद्वार भएको आक्रमणका कारण पनि आजको नेपाली पूँजीबजारमा प्रभाव देखिएको बताए । ‘उसै त नेपालमा चुनाव लागेर अहिले सेयरबजार माथि जान सकिरहेको छैन, त्यसमाथि हिजो इरानले मिसायल आक्रमण गरेको विषयले नेपालको पूँजीबजारमा झनै प्रभाव पारेको छ’ उनले भने, ‘तर अहिले बजार जति घटेपनि लगानी गर्न सकियो भने चुनावपछि मालामाल बन्ने अवसर हुन सक्छ । अहिले अलिक राम्रा कम्पनीमा लगानी गर्न सके त चुनावपछि सेयर अवश्य बढ्ने नै थियो ।’
एकैछिनपनि दुईचारजना लगानीकर्ताहरु राजनीतिक विषयतर्फ केन्द्रित भए । एकजना लगानीकर्ताले चुनावपछि कुनै पनि पार्टीको बहुमत नआउने तर जसको सरकार बनेपनि एक चरणमा सेयर बजार बढ्न सक्ने आँकलन व्यक्त गरे ।
‘यसो माहोल हेर्दा त कुनै पनि पार्टीले बहुमत ल्याउने छाँटकाँट देखिदैन, अहिलेको माहोल हेर्दा राष्ट्रिय स्वतन्त्त पार्टी र नेपाली काँग्रेसको गठबन्धन सरकार बन्ला जस्तो छ, तर दुबै मिलेर सरकार पो कस्तो हुन्छ भन्ने कुरा हो’ ती लगानीकर्ताले भने, ‘तर राजनीतिक बुझेको र म्याचुरिटीको हिसाबले त गगन थापा नै सहि छ, जस्तो लाग्छ, पपुलारिटीको हिसाबले राजनीतिमा डुब्न गाह्रो हुन्छ ।’
एकछिनपछि भने लगानीकर्ताहरु हाइड्रो समूहका केही कम्पनीहरुको चर्चा गर्न थाले । एकजना लगानीकर्ताले अपि पावर कम्पनी, राधी विद्युत कम्पनी र ङादी ग्रुप पावरको सेयर खरिद गर्दा रिटर्न पाउन सकिने सम्भावना रहेको भाव व्यक्त गरे ।
त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं.५७)मा पुग्यौं । सँधै बाक्लो उपस्थिति हुने उक्त ब्रोकर हाउसमा आज एकजना पुरुष र एक महिला गरी दुईजना लगानीकर्ता मात्रै उपस्थित थिए ।
सेयरबजार घट्ने क्रम रोकिएको थियो । बजार विस्तारै लयमा फर्किदै थियो तर पुरुष लगानीकर्ता भने आफ्नो स्क्रिप्ट नबढेकोमा चिन्ता व्यक्त गर्दै थिए ।
‘बजार फर्केर हरियो हुन थालिसक्यो तर आफ्नो स्क्रिप्ट भने बढ्नै सकेन, जहिल्यै घटेको घट्यै छ’ ती लगानीकर्ताले भने, ‘हैन हाम्रो भाग्य नै त्यस्तै होकी सेयर किन्न नजान्या होकी किनेको सेयर बढ्नै जान्दैन त ।’
उनको कुरालाई समर्थन गर्दै महिला लगानीकर्ताले पनि आफ्नो स्क्रिप्ट बढ्न नसकेको दुखेसो पोखिन् । ‘त्यहि त म पनि हैरान परिसके यो सेयरबजार बढ्न नसकेको देखेर’ उनले भनिन्, ‘पहिला २०७२ सालतिर नेपालको सेयरबजार कस्तो राम्रो थियो, किनेको सेयरबाट थोरै भएपनि रिटर्न पाइनै हालिन्थ्यो तर अहिले त्यस्तो अवस्था नै छैन, अहिले सेयर किन्यो बढ्दै बढ्दैन, आशा छ चुनावपछि सेयर बढेर पोर्टफोलियो बढ्छ कि !’
त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)तर्फ लाग्यौं । उक्त ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । नेप्से परिसूचक विस्तारै हरियो भइ बढ्न थालिसकेको थियो ।
उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरु समग्र सेयरबजारसँगै राजनीतिक र चुनावी माहोलका विषयमा कुरा गर्दै थिए । एकजना लगानीकर्ताले चुनाव लागेकाले आज लगानीकर्ताहरुको उपस्थितिक कम भएको बताए ।
‘देशैभरी चुनाव लागेको छ, अबको एक सातापछि कसको सरकार बन्ने हो तय हुनेछ’ उनले भने, ‘जसको सरकार बनेपनि देशको अर्थतन्त्रमा सुधार होस् र नेपाली पूँजीबजारका लागि उपयुक्त पोलिसीहरु बनोस् हामी लगानीकर्ताहरुको अपेक्षा त त्यहि नै हो ।’
उनको भनाईलाई समर्थन गर्दै अर्का लगानीकर्ताले अबको नयाँ सरकारले आम सेयर लगानीकर्ताहरुको हित सुनिश्चित गर्नुपर्ने र लगानीको लागि उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्ने तर्क व्यक्त गरे ।

