काठमाण्डौ । Loft Dynamics ले European Union Aviation Safety Agency (EASA) तथा Airbus Helicopters सँगको सहकार्यमा नेपालमा नयाँ भर्चुअल रियालिटी (VR) आधारित हेलिकप्टर सुरक्षा तालिम कार्यक्रम सुरु गरेको घोषणा गरेको छ। यो पहलको उद्देश्य चुनौतीपूर्ण भौगोलिक र मौसमीय अवस्थाबीच सञ्चालन हुने नेपाली उड्डयन क्षेत्रमा हेलिकप्टर दुर्घटना न्यूनीकरण गर्नु तथा पाइलटहरूको तयारी स्तर सुदृढ बनाउनु हो।
नेपालको उड्डयन क्षेत्र उच्च हिमाली भू–भाग र परिवर्तनशील मौसमका कारण विश्वकै जटिल सञ्चालन वातावरणमध्ये एक मानिन्छ। दुर्गम क्षेत्रमा यातायात, उद्धार तथा पर्यटन सेवाका लागि हेलिकप्टर अपरिहार्य माध्यम भएकाले उच्चस्तरीय पाइलट दक्षता अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
काठमाण्डौमा एक महिनासम्म सञ्चालन हुने यस सुरक्षा कार्यक्रममा Loft Dynamics को H125 VR फ्लाइट सिमुलेटर प्रयोग गरिनेछ। तालिम सामग्री Airbus Helicopters द्वारा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) मापदण्डअनुसार विकास गरिएको हो। कार्यक्रमअन्तर्गत नेपालका सबै हेलिकप्टर पाइलटले अनिवार्य रूपमा चार घण्टाको सिमुलेटर-आधारित तालिम लिनुपर्नेछ, जसमा विशेषगरी Mountain Flying तथा H125 पुनरावृत्ति आपतकालीन (Recurrent Emergency) तालिम समावेश हुनेछ।
तालिम सत्रहरू अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरूले सञ्चालन गर्नेछन्। हिमाली उडान सम्बन्धी प्रशिक्षण Lorenz Nufer र Nick Mayhew ले नेतृत्व गर्नेछन् भने आपतकालीन तालिम Airbus International Services का Klaus Kraus तथा Airbus Helicopters का तालिम सञ्चालन प्रमुख Yann Guérin को नेतृत्वमा सञ्चालन हुनेछ।
Airbus Helicopters का एभिएसन सेफ्टी म्यानेजमेन्ट तथा अन्तर्राष्ट्रिय सञ्जाल प्रमुख Arnd von Fabeck ले “शून्य दुर्घटना” लक्ष्यतर्फ अघि बढ्न उन्नत प्रविधिसँगै उच्च तयारी भएका पाइलट आवश्यक पर्ने उल्लेख गरे। उनले VR प्रविधिमार्फत नेपाली पाइलटहरूलाई वास्तविक अवस्थासँग मिल्दोजुल्दो अभ्यासको अवसर प्रदान गरिनु महत्वपूर्ण कदम भएको बताए।
त्यस्तै, Loft Dynamics का संस्थापक तथा प्रमुख प्राविधिक अधिकृत Fabi Riesen ले परम्परागत फुल-फ्लाइट सिमुलेटर हिमाली क्षेत्रमा स्थापना गर्न कठिन हुने उल्लेख गर्दै VR प्रणालीले सुरक्षित र प्रभावकारी तालिममा पहुँच विस्तार गर्ने बताए। उनका अनुसार, यस पहलले नेपाल मात्र नभई दक्षिण एसियाका अन्य मुलुकका पाइलट तथा अपरेटरहरूलाई समेत लाभ पुर्याउनेछ।
यो कार्यक्रम European Union Aviation Safety Agency द्वारा कार्यान्वयन भइरहेको EU–South Asia Aviation Partnership Project अन्तर्गत सञ्चालन गरिएको हो, जसले दक्षिण एसियाली देशहरूमा उड्डयन सुरक्षा, नियामक समन्वय तथा क्षमता अभिवृद्धि प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

