काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले देश अब नयाँ मोडतर्फ अघि बढ्ने बताएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कानून सबैभन्दा माथि रहेको उल्लेख गरेका छन्।
उनका अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिनु कुनै प्रतिशोधको कदम नभई कानुनी प्रक्रियाको सुरुवात हो। “प्रतिवद्धता भनेको प्रतिवद्धता नै हो, कानूनभन्दा माथि कोही हुँदैन,” भन्दै उनले यो कदमलाई न्यायको प्रारम्भिक चरणका रूपमा व्याख्या गरेका छन्।
जेनजी आन्दोलनका क्रममा हत्या गरिएकाको पार्थिव शरीरमा पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै गरेको फोटो समेत हाल्दै उनले फेसबुकमा लेखेका छन् :"PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।'

