काठमाण्डौ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ सर्वसम्मत रूपमा चयन हुने निश्चित भएको छ।
उक्त पदका लागि उपाध्यक्ष बादलसँगै सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेका थिए। सहमति नजुटेपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको थियो।
निर्वाचन संयोजक निरज आचार्यका अनुसार बादलले उम्मेदवारी दर्ता गरिसकेका थिए भने नेम्वाङले पनि मनोनयनपत्र लिएका थिए।
तर, आवश्यक प्रस्तावक र समर्थक जुटाउन नसकेपछि नेम्वाङको उम्मेदवारी अघि बढ्न नसकेको खुलेको छ । यससँगै प्रतिस्पर्धा नहुँदा बादल निर्विरोध रूपमा संसदीय दलको नेता बन्ने भएका हुन्।

