काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति प्राप्त गरेको थियो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आईपीओ भने गत चैत १२ गते नै बन्द भइसकेको छ।
आयोजना प्रभावितका लागि छुट्याइएको कुल सेयरमध्ये ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ का अति प्रभावित स्थानीय बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ। बाँकी ४ लाख ६८ हजार ७५० कित्ता भने सोही गाउँपालिकाको वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथीभरा याङवरक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ का स्थानीयका लागि विनियोजन गरिएको छ।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आवेदन दिन इच्छुक प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौँको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा–८ याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंक लिमिटेडको सिरिजङ्गा शाखा, एनएमबि बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको फुङलिङ शाखाबाट आवेदन फाराम प्राप्त तथा बुझाउन सक्नेछन्।

