काठमाण्डौ । सात कम्पनीले बुकबिल्डिङमार्फत सेयर निष्कासन गर्ने भएको छ । नर्भिक हस्पिटलसहित ७ कम्पनीले बुकबिल्डिङमार्फत सेयर निष्कासन गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग सम्झौता गरेको छ ।
यति ब्रुअरी लिमिटेड, नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड, पूर्वाञ्चल ल्युव आयल लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले बुकबिल्डिङमार्फत सेयर निष्कासन गर्न नेप्सेसँग सम्झौता गरेको हो ।
बुकबिल्डिङ निर्देशिका, २०७७ बमोजिम बुकबिल्डिङमार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि छुट्याएको सेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य संचालन गर्न सम्झौता भएको हो ।
साथै उक्त कम्पनीहरुको अंकित तथा चुक्तामूल्य निर्धारण भइसकेको छ । यति बु्रुअरी लिमिटेडको अंकित मूल्य ५० रुपैयाँ तोकिएको छ भने बाँकी सबै कम्पनीको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ ।
यति ब्रुअरीले संस्थागत लगानीकर्ताहरुका लागि कुल ८ लाख ६० हजार ८०० कित्ता, नर्भिक हस्पिटलले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ्ग मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्सले १८ लाख कित्ता, पूर्वाञ्चल ल्युव आयलले ६ लाख कित्ता र नेपाल चिया विकासले २ लाख ४० हजार कित्ता सेयर छुट्याएको छ ।

