काठमाण्डौ । नेपाल बीमा प्राधिकरण हिमालयन रि इन्स्योरेन्स प्रकरणमा अझै निर्णायक निष्कर्षमा पुग्न सकेको छैन । कम्पनीभित्र देखिएको कैफियतबारे स्पष्टीकरण मागेपछि जवाफ प्राप्त भइसके पनि कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा प्राधिकरण ‘वेट एन्ड वाच’ रणनीतिमा देखिएको छ ।
प्राधिकरणले एक साताअघि हिमालयन रि इन्स्योरेन्स का उच्च व्यवस्थापनसँग ७ दिने स्पष्टीकरण मागेको थियो । स्रोतका अनुसार कम्पनीले तोकिएको समयमै विस्तृत जवाफ बुझाइसकेको छ । तर प्राप्त जवाफहरूको विश्लेषण र कम्पाइलेसनको काम अझै जारी रहेकाले कुनै ठोस निर्णय सार्वजनिक गरिएको छैन ।
प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल का अनुसार, “कम्पनीबाट जवाफ आइसकेको छ, तर त्यसको अध्ययन हुँदैछ । अहिलेको अवस्थामा कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन ।”
यसअघि प्राधिकरणले सन्तोषजनक जवाफ नआए व्यवस्थापनमाथि कडा कदम चाल्ने संकेत दिएको थियो । सोही क्रममा कम्पनीका सीईओ उपासना पौडेल, डेपुटी सीईओ मुकेशकुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनिष कुमार, शिशिर गैह्रे र सन्तोष केसी सँग स्पष्टीकरण सोधिएको थियो ।
यता, सीईओ पौडेल स्वास्थ्य कारणले बिदामा रहेर उपचारका लागि भारत गएकी छन् भने अन्य व्यवस्थापकहरू नेपालमै छन्।
उच्च स्रोतका अनुसार प्राधिकरणभित्र बोर्ड तहमा समेत यस विषयमा छलफल भएको छ । यद्यपि, तत्कालै कम्पनीमाथि ‘टेकओभर’ जस्तो कठोर कदम चाल्ने सम्भावना न्यून देखिएको छ । अहिलेका लागि प्राधिकरणले प्राप्त जवाफको गहिरो अध्ययनपछि मात्रै अन्तिम निर्णय लिने संकेत दिएको छ ।
हिमालयन रि प्रकरण तत्काल टुंगोमा पुग्ने अवस्थामा देखिँदैन । नियामकको अन्तिम निर्णय अब कम्पनीले दिएको स्पष्टीकरणको ‘क्वालिटी’मा निर्भर रहनेछ ।

