काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को सञ्चालक समितिका अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन् ।
नयाँ सरकारको आह्वान र अभियानलाई साथ दिंदै उनले सोमबार अर्थमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
बस्यालले सोमबार बिहान अर्थमन्त्रालयमा पुगेर राजश्व सचिवलाई भेटेर राजीनामा बुझाउन खोजेका थिए । राजश्व सचिवले आफूले राजनीमा पत्र नबुझ्ने भन्दै साँझ अर्थमन्त्रीसँगको भेटघाट मिलाइदिएका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार साँझ ६ बजेको समय दिएका थिए ।
राजीनामा बोकेर साँझ मन्त्रालय पुगेका बस्यालले सत्तारुढ दलको राजनीतिक नियुक्ति लिएकाहरुले पद छाड्न गरिएको आह्वानमा साथ दिंदै आफू जिम्मेवारीबाट अलग हुन लागेको अर्थमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
अर्थमन्त्रीले राजीनामा बुझ्दै बस्याललाई उनको छोटो र सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

