काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा १६ करोड ३९ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको छ ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५५.६१ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको व्यवसायमा पनि सामान्य धक्का पुगेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको सोही अवधिसम्म १ अर्ब २२ करोड ७० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यसर्थमा कम्पनीको व्यवसाय ०.०७ प्रतिशतले घटेको छ ।
कम्पनीको कुल आम्दानी घट्नु र दाबी भुक्तानी बढ्नुले नाफा घट्न पुगेको हो । कम्पनीको कुल आम्दानी ३.०८ प्रतिशतले घटेर १ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ भने दाबी भुक्तानी २७.३१ प्रतिशतले बढेर ९० करोड ३० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको इपीएस २४.४७ रुपैयाँबाट घटेर १७.७४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २२३.११ रुपैयाँ, पीई रेसियो ३६.०७ गुणा रहेको छ ।
सो अवधिसम्म कम्पनीको चुक्तापूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेकोमा कम्पनीको बीमा कोषको आकार बढेर ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३७ करोड रुपैयाँ पुगेको छ ।

