काठमाण्डौ । अघिल्लो दिन बढेको सेयरबजार आज दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.४१ प्रतिशत अर्थात ३९.४४ अंकले घटेर २ हजार ७४४.४० विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९८ प्रतिशतले घटेर ४६८.२६ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६६ करोड ५० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘सरकारले पूँजीबजारका लागि नयाँ नीति ल्याएपनि त्यसमा कुनै स्पष्टता छैन र विशेषगरी सेयर लगानीकर्ताहरुले अहिलेको अपरिपक्व सरकारलाई आँखा चिम्लेर विश्वास गर्न सकिरहेका छैनन् । यसअघि सरकारले ठूला लगानीकर्ता वा व्यवसायीमाथि गरेको धरपडकले आम लगानीकर्ताले सरकारमाथि विश्वास बढाउन नसकेको देखिन्छ ।’
उनले थपे, ‘हिजो मात्रै सार्वजनिक भएको नीति तथा कार्यक्रममा पूँजीबजारसम्बन्धी केही नयाँ नीतिहरु आएका छन्, जुन बजारको लागि सकारात्मक छ तर कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने कुनै ग्यारेन्टी नहुँदा ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन् । अहिलेको बजार हेर्दा बुलिस ट्रेन्डमै छ, २७ सय भन्दा तल गए मात्रै बजार वियरिस ट्रेन्डमा जान्छ । बजार २७ सय भन्दा माथि नै रहिरह्यो भने बजेटअघि एउटा स्विङ आएर २९५० सम्म पुग्न सक्ने देखिन्छ । तर त्यसको लागि ठूला लगानीकर्ताहरु सेयरबजारमा पूर्ण रुपमा सक्रिय हुन आवश्यक छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.१९ प्रतिशतले बढ्यो ।
यो दिन व्यापार समूह सर्वाधिक अर्थात २.३३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.८३ प्रतिशत, विकास बैंक १.३७, फाइनान्स २.०३, होटल २.०२, हाईड्रो २.२२ ,लगानी १.३०, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन १.६५, लघुवित्त १.५१, निर्जीवन बीमा ०.७७ र अन्य समूह १.४९ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज नेशनल हाईड्रोपावरको सर्वाधिक अर्थात १८ करोड ९९ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ९ लाख, रिडी पावरको १७ करोड ३० लाख, शिवम् सिमेन्टको १५ करोड ८९ लाख र एसवाई प्यानलको १५ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये धौलागिरी लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै आज एसबीएल डिबेञ्चर २०८९ को मूल्य ५.५३ प्रतिशत र एनआईएमबी समृद्धि २ को मूल्य ३.४९ प्रतिशतले बढ्यो ।
यो दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १२.४० प्रतिशतले घट्यो ।

