काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् ।
बीमकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.५५ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्ससहित ४ कम्पनीको नाफामा उल्लेख्य गिरावट आउँदा बीमकहरुको समग्र नाफा घट्न पुगेको हो ।
गत आवको तुलनामा नाफा वृद्धि गर्ने कम्पनीहरुको पनि सामान्य मात्रै बढेको छ । तेस्रो त्रैमासमा जीवन बीमकहरुको लगानीबाट हुने आम्दानीमा त्यति प्रगति देखिएको छैन साथै कम्पनीहरुलाई दाबी भुक्तानीको दायित्वले गर्दा पनि नाफा बढाउन नसकेको देखिन्छ ।
सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । तर कम्पनीको यो नाफा गत आवको तुलनामा ०.९९ प्रतिशत मात्रै बढी हो ।
चैत मसान्तसम्म सबैभन्दा कम नाफा कमाउने राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीले जम्मा ४० लाख १७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । कम्पनीको नाफा ७३ं९५ प्रतिशतले घटेको छ ।
साथै गत आवको तुलनामा सबैभन्दा नाफा ग्रोथ गर्ने कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । यो कम्पनीले ३५.७८ प्रतिशतले नाफा बढाएको छ ।
पोहोरको तुलनामा यस वर्ष नाफा घट्ने कम्पनीहरुमा भने नेपाल लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र राष्ट्रिय जीनव बीमा कम्पनी रहेका छन् ।


