काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले पूँजीबजार क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई सम्मान तथा बधाई ज्ञापन गर्न विशेष कार्यक्रम आयोजना गरेको छ।
संघले बुधबार आयोजना गरेको कार्यक्रममा कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्ष तथा विभिन्न क्षेत्रबाट निर्वाचित एफएनसीसीआई प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एफएनसीसीआईका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, उपाध्यक्षहरू दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा, पूँजीबजारका वरिष्ठ लगानीकर्ता अम्बिका प्रसाद पौडेल, पूर्वअध्यक्षहरू सन्तोष मैनाली तथा प्रियराज रेग्मी, जुना माथेमा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संघका अध्यक्ष सागर ढकालले पूँजीबजार सुधारका लागि धितोपत्र ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै पूँजीबजारको ज्ञान र अनुभव भएको व्यक्तिलाई नेपाल धितोपत्र बोर्डमा एफएनसीसीआईको प्रतिनिधित्व गराइनुपर्ने धारणा राखे ।
वरिष्ठ लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ७० प्रतिशत बराबर पूँजीबजारको बजार पूँजीकरण पुगेको बताउँदै एफएनसीसीआईमा पूँजीबजार क्षेत्रको उल्लेखनीय सहभागिता सकारात्मक संकेत भएको उल्लेख गर्नुभयो। उहाँले स्टक ब्रोकर्स एसोसिएसनलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्नेमा जोड दिए।
संघका पूर्वअध्यक्ष सन्तोष मैनालीले ‘१० कित्ता नीति’ ले बजारमा असन्तुलन र कर्नरिङको अवस्था सिर्जना गरेको टिप्पणी गर्दै बुक बिल्डिङ प्रणालीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, आईपीओ तथा सेयर सूचीकरण नीतिमा पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो।
पूर्वअध्यक्ष तथा एफएनसीसीआई कार्यकारिणी सदस्य प्रियराज रेग्मीले दोस्रो बजारलाई चलायमान बनाउन नीतिगत पहल आवश्यक रहेको बताउँदै पूँजीबजारका समस्याहरू समाधानका लागि एफएनसीसीआईमार्फत सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
एफएनसीसीआईकी नवनिर्वाचित प्रतिनिधि जुना माथेमाले स्टक ब्रोकर्स एसोसिएसनले नीतिगत विषयमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले सुझाव तथा धारणा प्रस्तुत गर्दा संरचित ढंगले पेश गर्नुपर्ने र पूँजीबजारसम्बन्धी जनचेतनामूलक छोटा भिडियो सामग्री निर्माण गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा संघका उपाध्यक्ष नितेश कुमार अग्रवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव भक्तिराम घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए।
सो अवसरमा आर्थिक पत्रकार कुमार खतिवडालाई उत्कृष्ट पत्रकारितामार्फत पूँजीबजार क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मानसमेत गरिएको थियो।

