काठमाण्डौ । झट्ट सुन्दा बीमा अभिकर्ता ‘एजेन्ट’ भन्ने बित्तिकै तपाईको दिमागमा के आउँछ ? सामान्य बुझाई तथा नेपाली समाजको दृष्टिकोणबाट एजेन्ट अर्थात दलाल भन्ने बित्तिकै ठगी गर्ने व्यक्ति वा झुटो कुराको खेती गरी आर्थिक लाभ लिने व्यक्ति हो भन्ने गलत बुझाई छ ।
बीमा क्षेत्रमा पनि बीमा अभिकर्ताहरुलाई एजेन्टको रुपमा लिइन्छ । अर्थात् बीमा कम्पनीले आफ्ना उत्पादन बिक्री गर्ने तथा बजारमा उपस्थिति जनाउने प्रयोजनका लागि बीमा अभिकर्ता परिचालन गरेका हुन्छन् ।
तर अझैपनि नेपाली समाजमा बीमा अभिकर्ताहरुलाई हेर्ने नजरिया पूर्ण रुपमा फेरिएको छैन । कतिपयले अझैपनि बीमा अभिकर्ता पेशालाई जनतालाई झुक्याएर बीमा बेच्ने वा जनतालाई फसाउने ‘फ्रड’ व्यवसायको संज्ञा दिएको पाइन्छ ।
अभिकर्ता बन्नुअघि एजेन्ट भन्ने बित्तिकै ‘दलाली’को रुपमा बुझ्दै आएकी पुष्पा अधिकारीको यतिबेला यो सोचमा नै परिवर्तन आएको छ । अहिले उनी अभिकर्ता भनेको बीमाको बारेमा वकालत गर्ने मान्छे हो, भनेर वकालत गर्छिन् । साथै, अभिकर्तालाई एड्भाइजरको नामले सम्बोधन गर्दा मानसपटलमा उर्जा थपिने उनी बताउँछिन् ।
२०७७ सालमा एशियन लाइफ इन्स्योरेन्सबाट अभिकर्ताको रुपमा बीमा क्षेत्रमा प्रवेश गरेकी पुष्षाले छोटो समयमा नै यो क्षेत्रबाट धेरै उपलब्धी पाएको बताउँछिन् । अहिले उनी बीमा अभिकर्ता पेशालाई सामाजिक सेवाको रुपमा परिभाषित गर्न रुचाउँछिन् ।
अभिकर्ता पेशामा लागेपछि बीमा क्षेत्रलाई नै हेर्ने दृष्टिकोण फरक पाएको उनको धारणा छ ।
बीमा अभिकर्ताले बीमा कम्पनीको तर्फबाट फिल्डमै उत्रिएर ग्राहक तथा बीमितसँग बीमा उत्पादन बिक्री गर्न, बीमा उद्योगसम्बन्धी जनचेतना जगाउन तथा बीमा कम्पनी र आम–मानिसहरुबीच सम्बन्ध बनाउने साथै बीमाले बचत र सुरक्षा प्रदान गर्ने भएकाले यो पेशा सामाजिक सेवाका रुपमा रहेको पुष्पा बताउँछिन् ।
‘बीमा अभिकर्ता भनेका बीमा कम्पनीको मेरुदण्ड हुन्, कम्पनीले उत्पादन गरेको बीमा प्रडक्टलाई बीमित समक्ष पुर्याउने काम अभिकर्ताले गर्छ र आममानिस तथा बीमितको जीवन रक्षाका लागि अभिकर्ताले बीमा गर्न प्रेरित समेत गरेको हुन्छ’ उनले भनिन्, ‘बचतसँगै भविष्यमा हुन सक्ने आर्थिक जोखिम बहन, बिना धितो लोन सुविधा जस्ता अति महत्वपुर्ण कुरा जोडिएकोले, सर्वसाधारणकै घरमा गई बीमा गराउने काम अभिकर्ताले मात्रै गर्छ, यसर्थ यो पेशाले सामाजिक सेवाको कार्य पनि गरिरहेको हुन्छ ।’
बीमा क्षेत्रमा यसरी जोडिन पुगिन् पुष्पा
बीमा क्षेत्रमा आउनुभन्दा अघि पुष्पा एनजीओमा कार्यरत थिइन् । एनजीओमार्फत बालबालिका, महिला तथा किशोरकिशोरीको हक हित र उनीहरूका विविध मुद्धाहरुमाथि काम गर्दै आएकी थिइन् ।
बालअधिकार, बाल दुर्व्यवहार, साइबर क्राइम, क्षमता अभिवृद्धि, जीवन उपयोगी सीप तथा स्वस्थ जीवन शैली जस्ता विषयमा उनले तालिम समेत दिने गर्थिन् । यसै दौरानमा उनको एशियन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर (हाल नेशनल लाइफका कर्मचारी) राजु शाहसँग भेट भएको थियो । शाहकै माध्यमबाट एशियन लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा प्रवेश गरेको उनी बताउँछिन् ।
बीमा क्षेत्रमा आउनुभन्दा अघि नै सामाजिक कार्यमा सक्रिय तथा एनजीओमा कार्यरत उनी बाल क्लव ग्राजुएट पनि भएकाले सामाजिक सेवाको भाव आफ्नो व्यवसायिक कामको दौरानमा जतापुगे पनि आउने उनको धारणा छ । सानै उमेरबाट समाजमा नजिक भएर काम गरेकोले बीमा क्षेत्रमा आएर काम गर्न खासै गार्हो नभएको उनी तर्क गर्छिन् ।
‘एसएलसी दिने बित्तिकै धेरैले बीमाको क्षेत्रमा काम गर्न सुझाव दिनुभएको थियो, कुनै एक कम्पनीबाट बीमा अभिकर्ताको एक दिने तालिम पनि लिएकी थिए तर एसएलसी सकेपछि एउटा एनजीओले सहजकर्ताको रुपमा काम गर्ने अवसर दिएकोले बीमा क्षेत्रमा त्यो बेला काम गर्ने झुकाव भएन’ उनले भनिन्, ‘तर मैले त्यो बेला आफ्नो बीमा भने आफ्नै कमाईले सुरू गरिसकेकी थिए र २०७७ सालमा एजेन्सी म्यानेजर राजु शाहले यो क्षेत्रमा आउन मलाई निकै प्रेरित गर्नुभयो ।’
२०७७ साल साउन २२ गते पुष्पाले सन्तान जन्माएपछि बच्चाको नाममा बचत गरिदिनु उसको भबिष्य आर्थिक रूपमा सुनिश्चित गर्नु हो भन्ने सोचका साथ भदौ २९ गते बाल दिवसको अवसर पारी आफ्नै कोडबाट छोराको जीवन बीमा गराईदिइन् । त्यो बेलासम्म उनलाई अभिकर्ता पेशाको बारेमा राम्रो केही जानकारी थिएन ।
आफुलाई व्यस्त राख्न रूचाउने उनी त्यो समय बीमा क्षेत्रबाट अभिकर्ताले पाउने सुविधा भन्दा पनि खाली समयको सदुपयोग गरौं भन्ने सोचले राजु शाहबाट बीमा प्रोडक्टको बारेमा जानकारी लिएको उनी बताउँछिन् ।
‘‘राजु सरले एकदम राम्रोसँग धेरै कन्सेप्टहरु सहित बीमाको बारेमा बुझाईदिनुभएको थियो त्यसपछि मलाई बीमा क्षेत्रमा काम सुरु गर्न मन लाग्यो’ उनी भन्छिन् ।
आफ्नै कोडबाट छोराको बीमा गराएपछि उनले विस्तारै आफ्नै चिनजानका व्यक्तिहरुसँग कुरा गरिन् र लगभग एक महिना नपुग्दै ५ लाख भन्दा बढि प्रिमियम काट्न सफल भईन् ।
‘सेवा सुविधाको बारेमा कोहिसँग सोधपुछ नगरी काम सुरु गरेकी थिए, ५ लाख भन्दा बढी प्रिमियम काटेपछि खातामा डेढ लाख रुपैयाँ जति जम्मा भयो, त्यसपछि मलाई उत्साह मिल्यो’ उनले भनिन्, ‘त्यसपछि मलाई यस क्षेत्रबाट पनि राम्रै आम्दानी गर्न सकिँदो रहेछ भन्ने लाग्यो र आफूले पाउने सेवा सुविधाको बारेमा सिनियरहरुसँग थप सोधपुछ गर्न थाले ।’
बीमा अभिकर्ताका रुपमा काम गर्ने दौरानमा उनले अन्य अभिकर्ता तथा बीमितहरुमार्फत पनि धेरै कुरा सिक्न पाएको बताउँछिन्। अभिकर्ता पेशाको बारेमा मैले धेरै रिसर्च गरे, धेरै कुराहरु बुझ्ने मौका मिल्यो, यसबाहेक मैले यो पेशालाई नाफामुखी भन्दा बढी सेवामुखीको रुपमा लिन सिके, जसको उपलब्धी आज मलाई मिलेको छ ।’
अभिकर्ता पेशाबाट पुष्पाले पाएको उपलब्धी
बीमा अभिकर्ता पेशामा लागेपछि पुष्पाले धेरै उपलब्धी हासिल गरेकी छिन् । समाजमा मान प्रतिष्ठासँगै आर्थिक पाटो समेत बलियो भएको उनी बताउँछिन् ।
‘‘सबैभन्दा पहिला त मलाई यो क्षेत्रले आत्मविश्वास बढाउँन सिकाएको छ, दैनिक ज्यालादारी गर्नेदेखी धनाढ्य र फरकफरक पेशा अंगालेका व्यक्तिहरूसँग बीमाको काम वा कुरा गर्दा चुनौतीहरु पनि आउँथे’ उनले भनिन्, ‘तर निरन्तर श्रीमानको साथ र सपोर्टले मलाई फिल्डमा निस्केर काम गर्न थप उर्जा मिल्थ्यो ।’
बीमा क्षेत्रमा काम गर्दा सम्बन्ध तथा नेटवर्किङ राम्रो भएको र आफ्नो व्यक्तिगत जीवनमा आएको सकारात्मक उर्जाले अरूलाई पनि यस क्षेत्रमा लागेर काम गर्न उनी प्रेरित गर्छिन् । यतिबेला पुष्पा आफैंले पनि बीमाको बिषयमा तालिमहरू दिदै आएकी छिन् ।
‘बीमा क्षेत्र अनलिमिटेड इन्कम हुने क्षेत्र हो, तर अभिकर्तामा लगनशीलता, धैर्यता, लगाव र मिहिनेत जस्ता गुणहरु हुनुपर्छ’ उनले भनिन् ‘फोकसका साथ लक्ष्य बनाएर अगि बढ्ने हो भने बीमा क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ र सफलताका लागी कामलाई सानो ठुलो नमानी आफुले सुरू गरेको कामले दिने सकारात्मक कुराहरूलाई पहिल्याउनु सक्नुपर्छ ।’
फुल टाइम दिएर आफ्नो कामप्रति लगाव हुने हो भने यो क्षेत्रबाट महिनामै २–३ लाख सहजै कमाउन सकिने पुष्पा दाबी गर्छिन् । पुष्पाले पनि ४ वर्षे बीमा यात्रामा एक महिनामै ७/८ लाख रुपैयाँसम्म आम्दानी गरेको बताउँछिन् ।
‘यो क्षेत्रबाट निश्चित कमाई हुँदैन, कहिले महिनामै २–३ लाख रुपैयाँ कमाई हुन्छ त कहिले १ रुपैयाँ पनि कमाई नहुने अवस्था आउँछ’ उनी भन्छिन्, ‘यो क्षेत्रमा सक्रिय रुपमा लागिपर्नु भएका अभिकर्ताहरुमध्ये म पनि एभरेज वर्गमा पर्छु, वार्षिक २० देखि २२ लाख जति आम्दानी गर्न सकिन्छ, तर यसको लागि डेडिकेशन भने अवश्य चाहिन्छ ।’
यो क्षेत्रमा नियमित रुपमा लाग्ने अभिकर्ताले मासिक ७०/८० हजार रुपैयाँ आरामदायी कमाई हुने उनी बताउँछिन् । ‘जागिर नपाएर भौतारिरहनु भएकाहरुलाई यो क्षेत्र अझ विशेष अवसर हुन सक्छ, अभिकर्ताको तालिम लिएर यो क्षेत्रमा लाग्ने हो भने न्यूनतम २०–२५ हजार यसै पनि कमाउन सकिन्छ’ उनी भन्छिन्, ‘बीमा क्षेत्र आम्दानी गर्नका लागि अझै ठूलो अवसर हुन सक्छ, अन्य कम्पनीमा दिने समय यो क्षेत्रमा दिने हो भने आर्थिक पाटो बलियो भएर जाने निश्चित छ ।’
कमाईको मात्र कुरा होइन, सेवा लिनको लागी पनि यो क्षेत्र त्यति नै फाइदा छ’ उनी थप्छिन् ।
‘अभिकर्ताहरुले बुझ्नुपर्ने कुरा भनेको बीमा बिक्री गर्न ग्राहक तथा बीमितलाई दबाद दिनु हुँदैन, बीमाको महत्वको विषयमा उहाँहरुलाई बुझाउने सक्ने हो भने आफैंले बुझेर बीमा गर्नुहुन्छ’ उनले भनिन्, ‘अभिकर्ता पेशा बीमा बिक्री गर्ने पेशा हो सबैको आ–आफ्नै बिक्री कला हुन्छ, तर मैले अहिलेसम्म जति पनि बीमा गराएको छु सबै बीमाको विषयमा स्पष्ट बुझाएर मात्रै गराएको छु ।’
यो पेशालाई बढी सामाजिक सेवाको रुपमा लिनुपर्ने उनी जोड दिन्छिन् । ‘हालसम्म मैले सय भन्दा बढी पोलिसी बेचिसकेको छु, ५ लाख रुपैयाँदेखि करोडसम्म बीमा गर्नेहरु मेरो क्लाइन्ट हुनुहुन्छ, तर यो क्षेत्रलाई मैले सामाजिक कार्य अर्थात सेवाको भावले हेरेको छु’ उनले भनिन्, ‘आफुले कमाएको केही अंश सामाजिक कामकै लागी प्रयोग गर्ने गरेको छु’ ।
बाटोमा मकै पोल्नेदेखि ठूला घराना तथा व्यवसायीहरुलाई समेत उनले बीमा गराएकी छिन् । ‘अभिकर्ताले एड्भोकेसीको काम गर्ने हो, कतिपय ग्राहकलाई मैले सरकारले ल्याएको स्वास्थ्य बीमाको बारेमा पनि स्पष्ट बुझाएर स्वास्थ्य बीमा भएपनि गर्न सुझाव दिने गरेको छु’ उनले भनिन् ।
आफ्नो कारणले बीमितका बच्चाहरुमा समेत बचत गर्न प्रोत्साहन मिलेको पुष्पा बताउँछिन् । ‘आफ्ना बच्चाहरुको बीमा गराउनुहुने अभिभावकहरुले बच्चाहरुमा बचत गर्नुपर्ने धारणा आएको बताउनुहुन्छ, यो सुन्दा खुशी लाग्छ’ उनले भनिन्, ‘अभिभावकसँगै बच्चाहरुलाई पनि खुत्रुकेमा पैसा जम्मा गरेर बीमाको प्रिमियम आफैं तिर्नुपर्छ भनेर प्रेरित गर्छु, अहिले बच्चाहरुले बीमाको प्रिमियम तिर्न थोरै–थोरै रकम भएपछि खुत्रुकेमा जम्मा गर्छन् भनेर अभिभावहरुले बताउनुहुन्छ, यस्तो सुन्दा ठूलो उपलब्धी मिलेको महसुस हुन्छ ।’
सबै अभिकर्ताले ग्राहकको आर्थिक अवस्था बुझेर नियमित बचत गर्न सक्ने रकमको मात्रै बीमा गर्न प्रेरित गर्नुपर्ने कुरामा पुष्पा जोड दिन्छिन् । बीमितको आर्थिक स्रोत कस्तो छ त्यो बुझेर मात्रै बीमा गर्दा बीमितहरुले पछि पोलिसी सरेण्डर गर्नुपर्ने अवस्था नआउने उनको भनाई छ ।
साथै बीमा गर्दा अवधि परिपक्वपश्चात् पाउने बोनस, सुरक्षाका कुराहरु र ऋणको सुविधाका विषयहरुमा बीमित स्वयं पनि स्पष्ट हुन जरुरी रहेको उनी तर्क गर्छिन् ।
‘विदेशमा बसेरै नेपालीको बीमा गराउँछु’
पुष्पा हाल अष्ट्रेलियामा छिन् । आफ्ना श्रीमान् सँग तीन महिनाअघि अष्ट्रेलियामै पुगेकी उनले त्यहाँबाटै बीमा बिक्री गर्ने काम गर्छिन् ।
‘नेपाल बाहिर बसेर बीमा बिक्री गर्न तुलनात्मक रुपमा थोरै गाह्रो छ, किनकी यता बस्नुहुने नेपालीहरु बिजी सेड्युलमा बस्नुहुन्छ’ उनी भन्छिन्, ‘तर असम्भव केही छैन, अहिले बीमाको बारेमा बुझाउने र बीमा गराउने सबै कार्य अनलाईनमार्फत नै हुने भएकाले केही सहज छ ।’
सामाजिक सञ्जालमार्फत बीमा अभिकर्ता पेशाको कार्य गर्न सहज हुने उनी तर्क गर्छिन् । ‘बीमा कम्पनीहरुमा अहिले सबैजसो काम अनलाइनमार्फत नै हुने भएकाले मैले पनि विदेशमा बसेर अनलाइन मार्फत नै सबै काम गर्ने गरेको छु’ उनी भन्छिन्, ‘संघर्ष गर्ने हो भने असम्भव केही छैन, अहिले मैले यहाँ बस्नुहुने नेपाली नागरिक र नेपालमै बस्नुहुनेहरुको बीमा गराईरहेको छु ।’
बीमा अभिकर्ता पेशासँगै पुष्पाले अनलाईन व्यवसाय पनि सुरु गरेकी छिन् । अष्ट्रेलियामा उनले नेपाली उत्पादनहरु ढाका टोपी, दौरा सुरुवाल, नेपाली अचारको व्यवसाय सुरु गरेकी छिन् । ‘नेपालमा उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर सानो अनलाईन व्यवसाय सुरु गरेकी छु’ उनी भन्छिन्, ‘यो व्यवसायले मलाई बीमा अभिकर्ता पेशामा पनि मद्दत मिलेको छ ।’
साथै एमडीआरटी ९मिलियन डलर राउण्ड टेबल० ग्लोबल कन्फ्रेन्समा समेत सहभागी हुने पुष्पाको सोच छ । ‘एमडीआरटी ग्लोबल कन्फ्रेन्स विश्व भरिकै अभिकर्ताहरूको साझा संगठनको सदस्यता प्राप्त गर्ने साझा संगठन हो, यस्तो सम्मलेनमा सहभागी हुनु अभिकर्ताहरुको लागि ठूलो अचिभमेन्ट हो’ उनले भनिन् ‘कन्फ्रेन्समा जाने ठूलो सपना छ, यसअघि पनि एमडीआरटी क्वालिफाइड भइसकेकी थिए तर विवध कारणवस विगतका बर्षमा जान सकेकी थिइन ।’
सन् २०२५ को लागि एमडीआरटी क्वालिफाइड हुन यतिबेला उनी लागिपरेकी छिन् । उक्त वर्षको लागि क्वालिफाइड भएमा कन्फ्रेन्समा समेत सहभागी हुने उनी बताउँछिन् ।
‘सम्भवतः २०२५ को ग्लोबल कन्फ्रेन्स अष्ट्रेलियामा नै हुने कुरा छ, यहि नै भयो भने त मलाई झनै सहज हुनेछ’ उनले भनिन्, ‘कन्फ्रेन्समा सहभागी हुँदा अन्य राष्ट्रका अभिकर्ताहरुबाट पनि धेरै कुरा सिक्ने अवसर मिल्ने कुरा सिनियरहरुबाट सुनेको छु ।’
‘अनावश्यक खर्च कटौति गरी सबैले अनिवार्य बीमा गरौं’
बचतसँगै सुरक्षा दिने माध्यम बीमा भएकाले सबैले अनिवार्य रुपमा बीमा गर्नुपर्नेमा पुष्पा जोड दिन्छिन् ।
‘जीवन बीमा सबैको लागि आवश्यक छ, अझ बढी विपन्न वर्ग तथा सीमान्तकृत वर्गलाई बीमा आवश्यक छ’ । ‘बीमा बुढेसकालको सहारा हो, भविष्यमा हुन सक्ने आर्थिक जोखिम बीमाले बहन गर्छ’ उनले भनिन्, ‘विभिन्न अवसरहरु बर्थ डे एनिभर्सरी, आमाको मुख हेर्ने जस्ता अवसरमा अनावश्यक गिफ्ट दिएर खर्च गर्नुभन्दा थोरै रकमको भएपनि बीमा गरिदिने बानी बसाल्यौं भने बीमाको महत्व सर्वत्र हुने थियो र बीमालाई अनिवार्य गराइनुपर्ने कुरामा सबैको ध्यान जाने थियो ।’
अधिकांश बीमितहरुमा मृत्युपश्चात् मात्रै हकवाला अर्थात परिवारलाई बीमा भुक्तानी मिल्ने गलत धारणा रहेको उनी बताउँछिन् ।
‘बीमा आफु रहँदा आफ्नो लागि र भवितब्य मृत्यु भएमा परिवारको लागि भनेर नबुझ्ने धेरै हुनुहुन्छ, यस्तो कुरा अभिकर्ताहरुले बीमितलाई स्पष्ट बुझाउन सक्नुपर्छ’ उनी भन्छिन्, ‘बीमितहरुले आफु रहँदा बचत र केही घटना घट्यो भने सेवा सुविधा, पुर्ण रूपमा अशक्त अपाङ्ग भएमा सुविधा सहित बचत रिटर्न पाउने कुरा बुझ्न आवश्यक छ ।’
साथै बीमा गर्दा ३ वर्षपछि केवल आफ्नो बीमालेख धितो राखेर ऋण लिन पाउने सुविधा रहेकाले बीमा गर्दा फाइदा हुने उनी तर्क गर्छिन् । ‘बैंकहरुमा आफ्नो सम्पत्ति राखेर ऋण लिनुपर्छ तर बीमा गर्दा कुनै कुरा धितो राख्नुपर्दैन’ उनी भन्छिन्, ‘बीमा गर्दा बचत, सुरक्षा, आर्थिक जोखिम बहन र कर्जाको पनि सुविधा पाइने भएकाले बीमा सबैको लागी आवश्यक छ ।’
साथै बीमा क्षेत्र आम्दानीको लागि राम्रो क्षेत्र भएकोले यसलाई अझ बढि व्यवस्थित बनाउन नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुलाई पुष्पा सुझाव दिन्छिन् ।