काठमाण्डौ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०७१÷७२ देखि निर्माण प्रक्रिया सुरु भएको यो विमानस्थल आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।
राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत यस आयोजनाको लागत ८ खर्ब रुपैयाँ रहेको छ । निर्माणका लागि विमानस्थल क्षेत्रमा तारबार लगाउने, निजी जग्गा अधिग्रहण, वातावरणिय मूल्याङ्कन, नदी नियन्त्रण तथा सुकुमबासी बस्ती व्यवस्थापन जस्ता प्राथमिक तयारी कार्यहरु सम्पन्न भएका छन् ।
गुरुयोजना निर्माणको ५० प्रतिशत कार्य पूरा भएको छ । प्रथम चरणको निर्माणको लागि रुख र पोलको लगत नम्बरिङ्ग कार्य जारी छ । आयोजनास्थलको विस्तृत सम्भाव्यता अध्ययन र सीमाङ्कन कार्य पनि सम्पन्न भएको छ ।
टाँगिया वस्ती व्यवस्थापन र मोडालिटी सम्बन्धि निर्णय स्थिर नभएको तथा सर्वोच्च अदालतको निर्णयपछि कार्यमा ढिलाइ भएकाले परियोजना प्रगति अपेक्षित गतिमा अघि बढ्न नसकेको हो ।

