काठमाण्डौ । भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवा र नेपालको अग्रणी पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ । सोल्टी होटेल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरुले ई–सेवाबाट सोल्टी होटेल्स तथा रिसोर्टसको कुनैपनि होटलमा बसाई बुकिङमा तथा खानपान गरे वापत क्यासब्याक र लोयाल्टी प्वइन्ट पाउने व्यावस्थाका लागि ई–सेवा र सोल्टी होटेल्स तथा रिसोर्टसबीच सम्झौता सम्पन्न भएको हो ।
आइतबार ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनल प्रालिका सञ्चालक तथा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने ‘सोल्टी होटलले आफ्नाप्रयोगकर्तालाई केन्द्रबिन्दुमा राखेर रिवार्ड प्वइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्य सत्कार क्षेत्रको लागि उदाहरणीय कार्य हुनुको साथै प्रविधिको साथ लिएर आफ्ना प्रयोगकर्तालाई फराकिलो सेवा दिनुले सेवाग्राहीलाई निकै नै सहज र सरल हुनेछ । सोल्टी होटल र इसेवाको यो सहकार्यले विदेशी र स्वदेशीदुवै पर्यटकहरुलाई निकै सजिलो र सहजहुनेछ। लोयाल्टी प्वइन्टद्वारा ई–सेवा प्रयोगकर्ताहरुको लागि अब होटल तथा खानपानका लागि रेष्टूराँ बुकिङमा सहजीकरण र फाइदाजनक हुने भएको छ ।’
उक्त हस्ताक्षर कार्यक्रममा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले भने ‘ई–सेवाले आर्थिक क्षेत्रमा गरेको योगदानले नेपाल तथा नेपालीहरुबाट हुने कारोबारको प्रक्रियालाई निकै नै सहज बनाएको छ । ई–सेवा र सोल्टी होटेल्स तथा रिसोर्टसको यो सहकार्यले सोल्टीको लोयल्टी प्वइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने छ ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                