काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०९ प्रतिशत अर्थात २.६६ अंकले बढेर २ हजार ७८०.२५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४७५.४४ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टका १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ७३ करोड ८१ लाख बढीको सेयर कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘लगानीकर्ताहरु बजेटमार्फत सरकारको पोलिसी कस्तो आउँछ, भन्ने प्रतिक्षामा थिए तर सरकारले पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा मान्यता दिएपनि करमा ५० प्रतिशत वृद्धिले लगानीकर्ताहरुले यो कुरालाई सकारात्मक रुपमा लिन सकेनन् । यतिबेला लगानीकर्ताहरु पूर्ण रुपमा सरकारको नीति तथा व्यवस्थालाई दाबी गर्न सकिरहेका छैनन् ।’
उनले थपे, ‘बजारमा अझैपनि ठूला लगानीकर्ताहरु सक्रिय भईनसकेको अवस्था छ । पर्ख र हेरको अवस्थामा हुँदा बजारले लय लिन सकिरहेको छैन । बजेटपछि नेपाल पुनर्बीमा कम्पनीसहित केही नन–लाइफ र फाइनान्स सेक्टरका कम्पनीहरु मात्रै चलेको देखिन्छ, तर बजार सस्टेन हुन बैंकिङ सेक्टर पनि चल्नुपर्ने देखिन्छ । अहिलेको सरकारले पूँजीबजारलाई सकारात्मक ढंगबाट नलिएको जस्तो देखिएको छ । बजार अहिले घटेको छैन मात्रै भन्ने हो यो भन्दा माथि उक्लिन पनि सकिरहेको छैन ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने ६ वटा समूहमा रातो पोतियो । आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ३.३७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.६६ प्रतिशत, होटल ०.१८, जीवन बीमा १.७३, उत्पादन तथा प्रशोधन ०.४२,लघुवित्त ०.४५ र म्युचुअल फण्ड ०.०१ प्रतिशतले बढ्यो ।
आज अज्य समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.३६ प्रतिशतले खुम्चियो । बैंकिङ समूह पनि आज ०.१३ प्रतिशत, फाइनान्स १.१६, हाईड्रो ०.११, लगानी ०.२० र व्यापार समूह ०.२४ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४४ करोड २३ लाख बढीको सेयर कारोबार भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ८५ लाख, रिडी पावरको २० करोड ४९ लाख, नेपाल इन्स्योरेन्सको १५ करोड १७ लाख र नेशनल हाईड्रोपावरको १२ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज कालिञ्चोक हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै विजय लघुवित्तको सेयरमूल्य ८.७३ प्रतिशत, सयपत्री हाईड्रोको ७.०५ र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ६.१७ प्रतिशतले बढ्यो ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ५.१८ प्रतिशतले घट्यो । सेन्ट्रल फाइनान्सको सेयरमूल्य पनि आज ३.४८ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य ३.३९ प्रतिशतले घट्यो ।

