काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । गत शुक्रबार घटेको सुनको भाउ आज पनि घटेको हो ।
आज सुनको मूल्य ८ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँमा झरेको छ ।
गत शुक्रबार पनि सुनको मूल्य २ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा सीमित बनेको थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदीको भाउ ३३५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको उच्च गिरावटका कारण नेपाली बजारमा समेत सुन चाँदीको मूल्य घट्न पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो कारोबारमा सुनको मूल्य ३.३२ प्रतिशत अर्थात १४८.६६ डलरले घटेर प्रतिऔंस ४ हजार ३२८ डलरमा झरेको छ। यो मूल्य मार्च पछिकै न्यून स्तर हो ।
अमेरिकी रोजगारीसम्बन्धी अपेक्षाभन्दा बलियो तथ्यांक सार्वजनिक भएसँगै सुनको भाउ ओरालो लागेको हो ।
अमेरिकी श्रम विभागका अनुसार मे महिनामा गैर–कृषि रोजगारी १ लाख ७२ हजारले वृद्धि भएको छ, जुन बजार अपेक्षाभन्दा निकै बढी हो। अर्थशास्त्रीहरूले करिब ८५ हजार रोजगारी वृद्धि हुने अनुमान गरेका थिए।
विश्लेषकहरूका अनुसार बलियो रोजगारी तथ्यांकले अमेरिकी अर्थतन्त्र अझै मजबुत रहेको देखिएको छ । जसका कारण फेडरल रिजर्भले ब्याजदर घटाउने सम्भावना कम भएको छ ।
ब्याजदर बढ्ने वा लामो समय उच्च रहने अपेक्षाले अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढाएको छ। यसले सुनमा लगानी गर्दा हुने अवसर लागत बढाउँछ, जसका कारण लगानीकर्ताहरूले सुन बेच्न थालेका छन्।

