काठमाण्डौ । नेपालले अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अर्को महत्वपूर्ण फड्को मारेको छ। विश्वकै प्रतिष्ठित लक्जरी होटल ब्रान्डमध्ये एक मानिने The Ritz-Carlton नेपाल भित्रिने घोषणा भएपछि सरकारदेखि निजी क्षेत्रसम्म उत्साहित बनेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो परियोजनाले नेपाललाई केवल पर्यटकको मात्र नभई विश्वका अर्बपति र उच्च आय वर्गका यात्रुहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा Marriott International का अध्यक्ष David Marriott, CG Hospitality का प्रतिनिधिहरू तथा लगानीकर्तासँग भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले नेपालको पर्यटन उद्योगका लागि यो ऐतिहासिक अवसर भएको बताए।

ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन सञ्चालन गर्ने घोषणा भएको भोलिपल्ट भएको भेटमा अर्थमन्त्रीले नेपालमा विश्वस्तरीय लक्जरी ब्रान्डको आगमनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई सकारात्मक सन्देश दिएको बताए। उनका अनुसार नेपाल अब केवल साहसिक पर्यटन र हिमालको देशका रूपमा मात्र सीमित रहने छैन, उच्चस्तरीय आतिथ्य सेवासहितको ‘लक्जरी डेस्टिनेसन’ का रूपमा पनि विश्व बजारमा चिनिन सक्ने आधार तयार हुँदैछ।
“द रिट्च कार्लटनको उपस्थितिले नेपाललाई विश्वका धनाढ्य पर्यटक र अर्बपतिहरूको नयाँ गन्तव्य बनाउने सम्भावना बढाएको छ,” अर्थमन्त्री वाग्लेले भने, “यस्तो ब्रान्डको आगमनले नेपालको पर्यटन क्षेत्रलाई गुणात्मक रूपमा नयाँ उचाइमा पुर्याउन सक्छ।”
उच्च खर्च गर्ने पर्यटक भित्र्याउने रणनीतिक अवसर
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा विश्व पर्यटन उद्योगमा ‘लक्जरी ट्राभल’ सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्र हो। यस्ता पर्यटकको संख्या तुलनात्मक रूपमा कम भए पनि उनीहरूले गर्ने खर्च सामान्य पर्यटकको भन्दा धेरै गुणा बढी हुने भएकाले अर्थतन्त्रमा प्रत्यक्ष योगदान उच्च हुन्छ।
नेपालले लामो समयदेखि ‘संख्यात्मक पर्यटन’ मा जोड दिँदै आएको भए पनि अब ‘उच्च मूल्यको पर्यटन’ तर्फ उन्मुख हुनुपर्ने बहस चलिरहेका बेला रिट्च कार्लटनको प्रवेशलाई रणनीतिक उपलब्धिका रूपमा हेरिएको छ।
सरकारको सन्देशः लगानी सुरक्षामा पूर्ण प्रतिबद्धता
भेटका क्रममा अर्थमन्त्री वाग्लेले नयाँ सरकारले विदेशी तथा स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा प्राथमिकता दिएको बताए। उनले लगानी सुरक्षादेखि कानुनी सहजीकरण र पूर्वाधार विकाससम्म सरकार पूर्ण रूपमा सहयोगी रहने प्रतिबद्धता जनाए।
“तपाईंहरूको लगानी सुरक्षित रहोस् भन्नेमा सरकार पूर्ण प्रतिबद्ध छ,” उनले भने, “हवाई तथा स्थलगत पूर्वाधार विस्तार हाम्रो प्राथमिकतामा छन्। नेपाललाई विश्व बजारमा ब्रान्डिङ गर्न निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुनेछ।”
उनले म्यारियट समूहलाई काठमाडौँमा मात्र सीमित नरही पोखरा, लुम्बिनी, चितवन तथा हिमाली गन्तव्यहरूमा समेत लगानी विस्तार गर्न आग्रह गरे।
‘नेपाललाई विश्व बजारमा थप चिनाउनेछौँ’ : डेभिड म्यारियट
भेटमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियटले नेपाल विश्वस्तरीय हिमाल, संस्कृति र ट्रेकिङ गन्तव्य भएको उल्लेख गर्दै रिट्च कार्लटनको उपस्थितिले नेपालको अन्तर्राष्ट्रिय छवि अझ सुदृढ हुने बताए।
“नेपाल अपार पर्यटन सम्भावना बोकेको देश हो,” उनले भने, “रिट्च कार्लटनमार्फत हामी नेपाललाई विश्वका उच्चस्तरीय पर्यटकमाझ अझ प्रभावकारी ढंगले प्रस्तुत गर्नेछौँ।”
उनले भविष्यमा समेत नेपालमा थप लगानी विस्तार गर्ने संकेत दिए।
चौधरी समूहको विश्वासः नयाँ सरकारसँगै लगानीकर्तामा उत्साह
भेटमा Rahul Chaudhary ले नेपाल लगानीका दृष्टिले सम्भावनाले भरिएको मुलुक भएको बताए। नयाँ सरकार गठनपछि निजी क्षेत्र र लगानीकर्तामा आशा तथा उत्साह बढेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा Nirvana Chaudhary तथा Rajeev Menon समेत सहभागी थिए।
रिट्च कार्लटनको नेपाल प्रवेशलाई धेरैले एउटा होटल परियोजनाभन्दा बढी अर्थ राख्ने घटनाका रूपमा व्याख्या गरेका छन्। यदि यो परियोजनाले अपेक्षित सफलता पायो भने नेपालले विश्व पर्यटन बजारमा आफूलाई ‘एड्भेन्चर डेस्टिनेसन’ बाट ‘प्रिमियम लक्जरी डेस्टिनेसन’ मा रूपान्तरण गर्ने नयाँ अध्याय सुरु गर्न सक्नेछ।

