काठमाण्डौ । अमेरिका र इरानबीच शान्ति सम्झौता हुने अपेक्षाले विश्वव्यापी वित्तीय बजारसँगै क्रिप्टोकरेन्सी बजारमा पनि उल्लेखनीय सुधार देखिएको छ। भूराजनीतिक तनाव कम हुने संकेतसँगै लगानीकर्ताको जोखिम लिने मनोवृत्ति बढ्दा क्रिप्टो सम्पत्तिमा खरिद चाप देखिएको हो।
आज अपरान्ह १२ बजेसम्म विश्व क्रिप्टो बजारको कुल बजार पूँजीकरण पछिल्लो २४ घण्टामा करिब २ प्रतिशतले बढेर २.२५ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यस वृद्धिसँगै लगानीकर्ताको सम्पत्ति करिब ७० अर्ब डलरले बढेको छ ।
बजारमा देखिएको सकारात्मक माहोलका कारण बिटक्वाइन, इथेरियम, बाइनान्स कोइन, रिपल र सोलानालगायत प्रमुख डिजिटल मुद्रामा वृद्धि भएको छ।
आज बिटक्वाइनको मूल्य २ प्रतिशतभन्दा बढी बढेर करिब ६५ हजार ७६३ डलर, इथेरियम २.५ प्रतिशतभन्दा बढी उकालो लाग्दै १ हजार ७१८ डलर, बाइनान्स १ प्रतिशतभन्दा बढी, रिपल करिब ३ प्रतिशत सोलाना ४.५ प्रतिशतभन्दा बढीले उछालिँदै ७१ डलर नाघेको छ।
यस्तै डजक्वाइन पनि १ प्रतिशतभन्दा बढी बढेर ०.०८८६५ डलरमा पुगेको छ।
केही वैकल्पिक क्रिप्टोकरेन्सीले भने अझ प्रभावशाली प्रदर्शन गरेका छन्। जेडक्यासमा १७ प्रतिशतभन्दा बढीको उछाल देखिएको छ र यसको मूल्य ४९६ डलर नाघेको छ। नियर प्रोटोकल १२ प्रतिशतभन्दा बढी बढेर २.३० डलरभन्दा माथि पुगेको छ।
यद्यपी बजार समग्र रूपमा सकारात्मक रहे पनि केही क्रिप्टोकरेन्सीमा गिरावट देखिएको छ। आज टेथर सामान्य गिरावटसँगै १ डलरभन्दा तल झरेको छ।
यस्तै मोनेरोमा १.५ प्रतिशतभन्दा बढीको कमी आएको छ। अडिएरामा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जसको मूल्य करिब २० प्रतिशतले घटेको छ।

