काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट माथि उठेर मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्ममा २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा भने संस्थाले ५४ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ६७.१० प्रतिशतले बढाएको छ । संस्थाको खुद ब्याज आम्दानी ५ करोड ६९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाले २ करोड ९७ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च ३ करोड ९२ लाख र अन्य सञ्चालन खर्च १ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
संस्थाको रिजर्भको आकार १९७.७१ प्रतिशतले बढेर ४ करोड ३८ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ३० करोड २९ लाख र कर्जा प्रवाह १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६.८९ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर २.६९ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २९.५६ रुपैयाँ,प्रतिसयर नेटवर्थ १४३.२३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७०७.९८ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७९.१७ गुणा र तरलता अनुपात ७.११ प्रतिशत रहेको छ ।