काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले विस २०७९ पौष ७ गते आफ्नो संयुक्त कारोबार सुरु गरेको थियो ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण ग्राहकवर्ग, अभिकर्ताहरु, कर्मचारीहरु , सेयरधनी, सञ्चालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरुलगायत सम्पूर्ण सञ्चारकर्मीहरूमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे ।
साथै यहि अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरि जोडिने सम्पुर्ण सरोकारवालाहरु लगायत नियमनकारी निकायहरूप्रति कृतज्ञता ज्ञापन गरे ।
कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको जनाएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्तापूँजी रु ४५४ करोड, जीवन बीमा कोष रु ३ हजार २०० करोड,कुल लगानी रु ३ हजार ७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ ।
कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ । हाल कम्पनीसँग आवद्ध प्रशिक्षित अभिकर्ताको संख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।