काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अर्को सूचना नआएसम्मका लागि निलम्बनको निर्णय गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत उक्त निर्णय गरेको जनाएको छ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यको हैसियतमा प्राप्त गर्दै आएका सबै अधिकार तत्कालका लागि गुमाएको छ। यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थिति मात्र होइन, समग्र विकास प्रक्रियामै गम्भीर असर पार्ने देखिएको छ।
फिफाको निर्णयअनुसार अब नेपालका राष्ट्रिय टोलीहरू तथा नेपाली क्लबहरू कुनै पनि फिफा वा एएफसी मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।
त्यस्तै, एन्फाले फिफा तथा एएफसीबाट प्राप्त गर्दै आएको विकास अनुदान, प्राविधिक सहयोग र विभिन्न परियोजनासम्बन्धी आर्थिक स्रोतहरू पनि रोकिने भएका छन्। एन्फाका पदाधिकारी, कर्मचारी तथा सम्बद्ध सदस्यहरूले अब फिफा र एएफसीद्वारा सञ्चालन गरिने तालिम, सेमिनार, विकास कार्यक्रम तथा प्रशिक्षण गतिविधिमा समेत सहभागिता जनाउन पाउने छैनन्।
यद्यपि फिफाले निलम्बन स्थायी नभएको स्पष्ट गरेको छ। अर्को फिफा कंग्रेस बस्नुअघि नै आवश्यक सर्तहरू पूरा भएमा फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले जुनसुकै समयमा निलम्बन फुकुवा गर्न सक्ने व्यवस्था राखिएको छ।

