काठमाण्डौ । संगुरको मुटुपश्चात मानव शरीरमा अब संगुरको किड्नी पनि ट्रान्सप्लान्ट गरिएको छ । अमेरिकामा मृत्युको मुखमै पुगेकी एक महिलाई संगुरको किड्नी प्रत्यारोपण गरेर ज्यान बचाईएको छ ।
अमेरिकाको न्यूजर्सीमा सर्जनहरुले ५४ वर्षिय महिला लीसा पिसानोको शरीरमा कम्बाइन्ड हर्ट पम्प र संगुरको किड्नी ट्रान्सप्लान्ट गरेका छन् । उनलाई नियमित डायलिसिस आवश्यक पर्ने गर्थ्यो । उनी लामो समयदेखि किड्नी र मुटु ट्रान्सप्लान्ट गर्ने प्रयासमा थिइन् । तर अमेरिकामा अंग दान गर्नेहरुको कमीका कारण उनले अंग पाईरहेकी थिइनन् ।
सर्जरीपश्चात लीसाले ट्रान्सप्लान्टको बारेमा पहिलोपटक सुन्दा यसलाई अपनाउन चाहेको बताएकी छन् । सर्जरीपश्चात लीसाले आईसीयुमा आफ्नो बेडबाट मिडियासँग कुराकाबी गरेकी छन् । उनले सबै प्रकारको उपचार गरेर हार खाएको र डाक्टरहरुले संगुरको किड्नी ट्रान्सप्लान्टका बारेमा बताउँदा स्वीकृती दिएको बताइन् ।
अमेरिकामा अंग दानको माग धेरै रहेको छ भने दान गर्नेको संख्या भने न्यून छ । रिपार्टका अनुसार अमेरिकामा प्रत्येक दिन अंग दानको प्रतिक्षामा १७ जनाले ज्यान गुमाउछन् । अमेरिकामा किड्नीको माग सबैभन्दा धेरै छ । अंग बिक्री खरिद तथा ट्रान्सप्लान्ट नेटकर्वका अनुसार सन् २०२३ मा अमेरिकामा २७ हजार किड्नी प्रत्यारोपण गरिएको थियो । अझै पनि अमेरिकामा ८९ हजार जना किड्नीको प्रतिक्षामा छन् । -एजेन्सी