काठमाण्डौ । पूँजी बजारसँग सम्बन्धित विभिन्न संघहरुले सेयर बजार सुधारको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आज पूँजीबजारसँग सम्बन्धित ५ वटा संगठनले अर्थमन्त्रीका सल्लाहकारमार्फत लगानीकर्ताको हित संरक्षण गर्ने मागसहित अर्थमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा लगानीकर्ताले सरकारले तत्काल पूँजीबजार सुधार नगरेको खण्डमा हाल बाँकी रहेका लगानीकर्ता समेत पलायन हुनुपर्ने र पूँजीबजारले अकल्पिनिय क्षती व्यहो र्नु पर्ने चेतावनी दिएका छन् । तसर्थ पूँजीबजारलाई तत्काल उद्धार गरी लगानीको वातावरण बनाउनुपर्ने र आसन्न सम्मेलनलाई सफल बनाउन अर्थमन्त्रीबाट पूर्व प्रतिवद्धताबमोजिम तत्काल ठोस निर्णय गर्न भनिएको छ ।
यस्ता छन् लगानीकर्ताका ७ बुँदे मागः
१. सेयर धितो कर्जामा लगाइएको सिमा हटाइनु पर्ने ।
२. सेयर धितो कर्जामा लगाइएको जोखिमभार १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने,
३.अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर कायम गर्नुपर्ने,
४.अविलम्ब धितोपत्र बोर्डको अध्यक्ष सक्षम र धितोपत्र सम्बन्धी अनुभवी व्यक्तिलाई नियुक्त गरिनुपर्ने,
५. प्रिमियममा आईपीओ निष्कासन गर्ने कार्य बन्द गर्नुपर्ने,
६. व्यवसायलाई पलायन गराउनबाट बाफिया ऐनलाई व्यवहारिक बनाइनुपर्ने,
७. बजारमा संस्थागत लगानीकर्तालाई प्रवेश गराउने, बैंक तथा वित्तीय संस्थालाई उनीहरुको कोर क्यापिटलको निश्चित प्रतिशत रकम पूँजीबजारमा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरियोस्,
उक्त ज्ञापनपत्र नेपाल सेयरधनी संघ,स्वतन्त्र पूँजीबजार सुधार संघ,नेपाल धितोपत्र लगानी संघ,नेपाल जनरल इन्भेष्टर्स एशोसिएसन र स्वतन्त्र पूँजीबजार संघ गरी ५ वटा संगठनले संयुक्त रुपमा अर्थमन्त्रीका वरिष्ठ सल्लाहकार डा.सूर्य बहादुर थापालाई बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै थापाले सरकार पूँजीबजारप्रति सकारात्मक रहेको र जतिसक्दो चाडो लगानीकर्ताको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको सहभागी संगठनहरुले बताएका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                