काठमाण्डौं । विभिन्न लगानीकर्ताहरुको संघ तथा संगठनको आह्वानमा आज भृकुटी मण्डपमा सयौं सेयर लगानीकर्ताहरु भेला भएका छन्।
भेलाले उपेन्द्र पाठकको नेतृत्वमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
विभिन्न बक्ताहरुले सरकारले स्वदेशी लगानीकर्ताहरुको लगानी सुरक्षा गर्न नसकेको आरोप लगाए ।
अगुवा लगानीकर्ता तिलक कोइरलाले लगानीकर्ताहरुको लगानी दैनिक घटेर खरानी हुने अवस्था आउँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । कोइरालाले अर्थमन्त्रीले कसैको प्रभावमा परेर लगानीकर्ताहरुको माग ओझेलमा पार्ने काममा सक्रिय रहेका आरोप समेत लगाए । उनले थपे-'कि त हाम्रो माग सरकारले पूरा गर्नुपर्छ, होइन भने यो जूवाघर बन्द गरिनु पर्छ । बजार दैनिक घट्दा घट्दा लगानीकर्ता सडकमा आउनुपर्ने बनिसक्यो ।'
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पटक पटक स्वदेशी लगानीकर्ताहरुले माग राख्दा बेवास्ता गरेको आरोप लगाए ।
अर्थमन्त्रीका आर्थिक सल्लाहाकारले नै पूँजीबजार नबुझेको पनि पाण्डेले आरोप लगाए । उनले आफूहरुले सांकेतिक रुपमा विरोध गर्ने पनि जनाए ।
सरकारले विदेशी लगानीकर्ताको सम्मेलन गरेर कूम्भ मेला गर्न थालेको आरोप लगाए । उनले भने-'सरकारले स्वदेशी लगानीकर्तालाई धोका दिएर विदेशी लगानीकर्ता च्याप्न थालेको छ । यो गलत रबैयाविरुद्ध हामी एकजुट हुनुपर्छ ।'
अहिले स्वदेशी लगानीकर्तालाई धोका दिएको सरकारले पछि गएर बिदेशीलाई पनि धोका दिने उनको दाबी छ ।
अपर तामाकोशी जलविद्युत कम्पनीका सञ्चालक तथा लगानीकर्ता दीपक कार्कीले एउटै लगानीकर्ता महासंघ बनाउनुपर्नेमा जोड दिए ।
लगानीकर्ता उपेन्द्र पाठकले आफ्नो लगानी घरमा बसेर सुरक्षित नहुने भन्दै सबै लगानीकर्ताहरुलाई आन्दोलनमा उत्रिन अपील गरे । उनले लगानीकर्ताले बुझाएको कार्ययोजना अर्थमन्त्रालयमा थन्काइएको र नियोजित रुपमा बजार प्रभावित पार्ने काम गरेको आरोप लगाए । स्वदेशी लगानीकर्ता मारेर विदेशी लगानीकर्ता भित्र्याउनुको कुनै अर्थ नरहेको पनि उनले आरोप लगाए ।
पाठकले आन्दोलनले बजार घट्छ भनेर कतिपयले तर्क गर्ने गरे पनि त्यो सही नभएको दाबी गरे । बजारमा लगानी गर्नेहरुले नीतिगत अस्थिरता र सरकारी रबैयाका कारण गरीब बन्नुपर्ने अवस्था बनिरहने हो भने सेयर बजार र लगानीकर्ताले कारोबार गर्ने ब्रोकर हाउस सधैंका लागि बन्द गरिनुपर्ने उद्घोष गरे
'ब्रोकर साथीहरु ब्रोकर कमिसन आफूहरुले गर्दा घटेको भनेर हामीसँग रिसाउनुको अर्थ छैन ।' उनले भने-'अहिले कमिशन भन्दा पनि ब्रोकरहरु कसरी टिक्ने भन्ने विषय महत्वपूर्ण छ ।'
उनले आफूहरुका माग सम्बोधन नभए लगानी सम्मेलनमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिए ।
लगानीकर्ता ऋतुजंग जीसीले पनि एउटै लगानीकर्ता संघ बनाउनुपर्नेमा जोड दिए । लगानीकर्ता सुरज खड्काले पनि एउटै लगानीकर्ता संघ बनाउन माग गरे ।
आजको भेलाले ११ सदस्यीय आन्दोलन परिचालन समिति पनि बनाएको छ । यही समितिको अगुवाईमा भोलि(शनिवार) १ बजे माइतीघर मण्डलामा विरोधको कार्यक्रम गर्ने योजना समेत रहेको पाठकले सुनाए ।