काठमाण्डौ । नेपाल सेयरधनी संघले पछिल्लो समय नेपालको पूँजी बजारमा देखिएको निरन्तर गिरावटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बजार सुधारका लागि तत्काल नीतिगत पहल गर्न सरकारसँग माग गरेको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठनपछि नेप्से परिसूचक निरन्तर ओरालो लागेको उल्लेख गर्दै यस अवधिमा आम लगानीकर्ताले ठूलो मात्रामा सम्पत्ति गुमाएको दाबी गरेको छ। संघका अनुसार सरकार गठन हुँदा करिब २९५० अंक आसपास रहेको नेप्से परिसूचक हाल २५७० अंक आसपास झरेको छ।
संघले नेप्सेको गिरावटसँगै लगानीकर्ताको बजार पूँजीकरणमा ६ खर्ब रुपैयाँभन्दा बढीको कमी आएको बताएको छ। यो रकम देशको वार्षिक बजेटको करिब २७ प्रतिशतभन्दा बढी हुने संघको दाबी छ।
पूँजी बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिइने भन्दै संघले बजारमा देखिएको निराशाले आम लगानीकर्ताको मनोबल कमजोर बनाएको जनाएको छ। बजारलाई स्थिर बनाउन अर्थमन्त्रीले सम्बन्धित सरोकारवालाहरूसँग तत्काल छलफल गरी समस्या पहिचान, कार्ययोजना निर्माण र आवश्यक नीतिगत सुधार गर्नुपर्ने संघको भनाइ छ।
सरकारले आगामी साउन १ गतेदेखि करसम्बन्धी व्यवस्था परिवर्तन गर्ने तयारी गरिरहेको अवस्थामा बजार सुधारका प्रभावकारी उपाय पनि सोही समयदेखि कार्यान्वयन गर्न संघले आग्रह गरेको छ। संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सहज लगानी गर्ने वातावरण सिर्जना गर्न तथा गैरआवासीय नेपाली नागरिकलाई दोस्रो बजारमा सहभागी गराउने व्यवस्था तत्काल लागू गर्नुपर्ने माग संघले अघि सारेको छ।
संघले पूँजी बजारमा लगानीकर्ताको विश्वास कायम राख्न सरकार, नेपाल धितोपत्र बोर्ड तथा नियामक निकायले बजारका प्रमुख सरोकारवालाहरूसँग तत्काल संवाद गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।
यदि बजार सुधारका लागि प्रभावकारी कदम नचालिए लगानीकर्ताको धैर्यता टुट्न सक्ने र सशक्त आन्दोलनको घोषणा गर्न बाध्य हुने चेतावनीसमेत संघले दिएको छ।
नेपाल सेयरधनी संघका अध्यक्ष जिएस पाण्डेद्वारा जारी विज्ञप्तिमा लगानीकर्ताको हित संरक्षण र पुँजी बजारको स्थायित्वका लागि तत्काल कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।