आईतवार, श्रावण १०,२०८३ 03:20:58
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:20:58
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा बजारमा नवीन उत्पादन विस्तार, साइबरदेखि ड्रोनसम्मको बीमालेख सञ्चालन गर्न अनुमति

निर्जीवन बीमा बजारमा नवीन उत्पादन विस्तार, साइबरदेखि ड्रोनसम्मको बीमालेख सञ्चालन गर्न अनुमति
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा बजारमा नवीन प्रकृतिका बीमा योजनालाई प्रोत्साहन गर्दै तीन बीमा कम्पनीका चार नयाँ बीमालेख सञ्चालनका लागि स्वीकृति दिएको छ ।  

प्राधिकरणले निर्माण, पर्यटन, साइबर जोखिम तथा ड्रोनसँग सम्बन्धित बीमालेख सञ्चालन गर्न आइजीआई प्रुडेन्सियल, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई अनुमति दिएको छ ।  

प्राधिकरणबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्माण क्षेत्रका लागि ‘प्रोफेसनल इन्डेम्निटी इन्स्योरेन्स फर कन्स्ट्रक्सन प्रोजेक्ट्स’ र पर्यटन उद्योगलाई लक्षित ‘टुरिजम पोलिसी’ सञ्चालन गर्ने अनुमति पाएको छ ।  

निर्माण आयोजनामा प्राविधिक त्रुटि वा पेशागत लापरबाहीबाट उत्पन्न हुन सक्ने दायित्व तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न जोखिमलाई बीमाको दायरामा ल्याउने उद्देश्यले यी बीमालेख स्वीकृत गरिएको जनाइएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सले ‘शिखर साइबर इन्स्योरेन्स’ सञ्चालनका लागि प्राधिकरणको स्वीकृति प्राप्त गरेको छ । डिजिटल प्रविधिको प्रयोगसँगै साइबर आक्रमण, डाटा चुहावट तथा अन्य साइबर जोखिम बढिरहेका बेला कम्पनीले यस्तो बीमा योजना ल्याउन लागेको हो ।  

यसअघि नेपाल इन्स्योरेन्सले पनि साइबर जोखिम बीमा बजारमा ल्याएको भए पनि त्यसले अपेक्षाअनुसार बजार विस्तार गर्न सकेको थिएन । नयाँ उत्पादनले साइबर सुरक्षाप्रति व्यवसाय तथा संस्थाहरूको बढ्दो चासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ‘ड्रोन बीमालेख’ सञ्चालनको अनुमति पाएको छ । यस बीमालेखअन्तर्गत ड्रोनमा हुने दुर्घटना, चोरी तथा अन्य क्षतिका साथै ड्रोन सञ्चालनका क्रममा तेस्रो पक्षलाई पुग्न सक्ने क्षतिको समेत रक्षावरण गरिनेछ ।

हाल नेपालमा श्रव्यदृश्य सामग्री निर्माण, समाचार संकलन, कृषि, पूर्वाधार निरीक्षण तथा विभिन्न सार्वजनिक कार्यक्रमहरूमा ड्रोनको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । यस्तो अवस्थामा ड्रोनसँग सम्बन्धित जोखिम व्यवस्थापनका लागि बीमा आवश्यक बन्दै गएको भन्दै प्राधिकरणले नयाँ बीमालेख स्वीकृत गरेको जनाएको छ ।

नयाँ बीमालेखहरूको स्वीकृतिसँगै नेपालको निर्जीवन बीमा बजारमा परम्परागत मोटर, सम्पत्ति र अग्नि बीमाभन्दा बाहिरका विशेषीकृत जोखिमलाई समेट्ने उत्पादन विस्तार हुने अपेक्षा गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.