काठमाण्डौ । विश्वकप फाइनलपछि भएको विवाद र राजनीतिक नारासहितको ब्यानर प्रदर्शनको विषयमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनाका खेलाडी तथा फुटबल संघविरुद्ध अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको छ।
फिफाले बुधबार सार्वजनिक गरेको अनुशासनसम्बन्धी विवरणअनुसार स्पेनसँगको विश्वकप फाइनल खेलपछि भएको झडपमा संलग्न भएको आरोपमा अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो परेडेस, डिफेन्डर नाहुएल मोलिना तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि विभिन्न आरोप लगाइएको छ।
जुलाई १९ मा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गरेपछि भएको विवादमा परेडेसमाथि तीनवटा आक्रमणसम्बन्धी आरोप, मोलिनामाथि दुईवटा आरोप र सहायक प्रशिक्षक आयालामाथि एउटा आरोप लगाइएको छ।
यस्तै, मोलिना र थियागो अल्माडामाथि खेल भावना विपरीत व्यवहार गरेको आरोप लगाइएको छ। यही आरोप स्पेनका खेलाडी गाभीमाथि पनि लगाइएको फिफाले जनाएको छ।
यसैगरी, सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुसम्बन्धी राजनीतिक नारासहितको ब्यानर प्रदर्शन गरेको विषयमा अर्जेन्टिना फुटबल संघमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ।
अर्जेन्टिनाले फकल्यान्ड टापुलाई ‘इस्लास माल्भिनास’ भन्ने गर्छ। सन् १९८२ मा अर्जेन्टिनाको तत्कालीन सैन्य सरकारले उक्त टापुमा आक्रमण गरेपछि बेलायत र अर्जेन्टिनाबीच १० सातासम्म युद्ध भएको थियो, जसमा बेलायत विजयी भएको थियो।
बेलायती सरकारी अधिकारीहरूले उक्त घटनाबारे फिफासँग छानबिनको माग गरेका थिए। फिफाले भने उक्त विषयमा “खेलकुद कार्यक्रमलाई गैर–खेलकुद प्रकृतिको प्रदर्शनका लागि प्रयोग गरिएको” भन्दै औपचारिक आरोप लगाएको जनाएको छ।
फिफाका अनुसार आरोप लागेका सबै व्यक्ति तथा संस्थालाई आफ्नो धारणा राख्ने अवसर दिइएको छ। उनीहरूको जवाफपछि फिफाको अनुशासन समितिले आगामी दिनमा निर्णय गर्नेछ।

