सोमबार, श्रावण १८,२०८३ 06:59:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:59:46
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरो रिपोर्ट: लाभांशभन्दा रिटर्नको खोजी, लगानीकर्ता भन्छन्, ‘अरु नभएपनि दालभातको गुजारा त चलकै छ’

ग्राउण्ड जिरो रिपोर्ट: लाभांशभन्दा रिटर्नको खोजी, लगानीकर्ता भन्छन्, ‘अरु नभएपनि दालभातको गुजारा त चलकै छ’
New Office

काठमाण्डौ । पछिल्लो समय सेयरबजार सुधारका लागि सबै पक्ष सकारात्मक हुँदाका वाबजुत पनि बजारले लय लिन सकिरहेको छैन । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता, ब्याजदर घट्नु, अर्थतन्त्र सुधारिदै जानु र नीतिगत स्थिरता र सुधार देखिनु बजारको लागि सकारात्मक पक्ष भएपनि लगानीकर्ताको ‘कन्फिडेन्ट’ अझै बढ्न नसकेको बजारको अवस्थाले देखाएको छ ।

नेपाल धितोपत्र बोर्डले पूँजीबजार सुधारको लागि नीतिगत सुधार ल्याउने भनेपछि सेयरबजारमा लगानीकर्ता सक्रिय भने देखिएका छैनन् । जसकारण पछिल्लो बजारमा भोल्युम घटिरहेको अवस्था छ ।

केही दिनअघि बजार बढ्दा ब्रोकर हाउसहरुमा लगानीकर्ताको सहभागिता पुनः बाक्लो देखिएपनि फेरी सहभागिताको संख्या घट्न थालेको छ ।  

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार घट्टेकुलो र अनामनगरका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो । अवलोकनका क्रममा लगानीकर्ताहरु सेयर किन्न उत्साहित देखिएपनि ‘फन्डामेन्ट स्ट्रङ’ कम्पनीहरु नचल्दासम्म बजार दिगो नहुने आशयमा थिए ।

लगानीकर्ताको मनोभाव बुझ्दा अझैपनि सेयर किन्न लगानीकर्तामा मनोबल बढिनसकेको अवस्था देखियो । केही लगानीकर्ताहरु भने सेयर कित्ता धेरै किनेर थोरै–थोरै नाफा बुक गरेर रिटर्न लिने भावमा देखिए ।

घट्टेकुलोमा लाभांशभन्दा बजारको रिटर्नमै लगानीकर्ताको नजर

सर्वप्रथम हामी घट्टेकुलोस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)मा पुग्यौं । बजार सामान्य अंकले बढेको थियो । लगानीकर्ताको सँधै बाक्लो उपस्थिति रहने उक्त ब्रोकरमा हामी पुग्दा उपस्थिति शुन्य नै थियो ।

एकछिनपछि दुईतिन जना लगानीकर्ता आए । उनीहरु सरकारको पछिल्लो गतिविधिका विषयमा गफ गर्दै थिए । एकजना लगानीकर्ताले स्क्रिन बोर्डतर्फ आँखा लगाउँदै भने, ‘बजार पनि बढ्न लागेजस्तो गर्छ, फेरी अन्तिममा घटेरै छाड्छ अब सेयर कित्ता धेरै किनेर २०–३० रुपैयाँ भएपनि नाफा बुक गर्नुपर्ला ।’

उनको कुरामा सहमति जनाउँदै अर्को लगानीकर्ताले थपे, ‘अब विकल्प नै के छ र ? पहिले–पहिले यो सिजनमा फन्डामेन्टल रुपमा बलिया कम्पनीमा लगानी गर्न आतुर हुन्थ्यो, अब यसपटक त्यस्ता कम्पनी चलेका छैनन्, बोनस राम्रो दिने कम्पनीले पनि दर घटाउन थालिसक्यो त्यहि भएरै होला अहिले त लाभांश भन्दा बजारको रिटर्नमै लगानीकर्ता फोकस गर्छन् ।’

अर्का एकजना लगानीकर्ताले भने ब्रोकरहरुले मार्जिन टेडिङको सुविधा चाँडै सुरु गरेमा बजारले लय लिन सक्ने तर्क व्यक्त गरे ।

अनामनगरमा बजारको अन्योलता, ‘साँवा पनि उठेन’

बजार दोहोरो अंकले बढेको थियो । त्यसपछि हामी अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । उक्त ब्रोकरमा भने लगानीकर्ताको सहभागि बाक्लै देखिन्थ्यो ।

एकजना पाका लगानीकर्ताले अहिलेको बजारको अवस्था हेरेर लगानी नथपेको कुरा सुनाए । सोही ब्रोकरमै रहेकी महिला लगानीकर्ताले भने बजार घटबढ भइरहेको अवस्थालाई लिएर गुनासो गरिरहेकी थिईनु् । ‘अघि भर्खरै दोहोरो अंकले बजार बढीरहेको थियो फेरी विस्तारै विस्तारै घट्दै पो आयो त, जानेरै बजार घटाउन लागिपरेका छन् कि क्याहो ?’ उनले भनिन् ।

एकछिनपछि एकजना लगानीकर्ता भने आजको बजार हेर्दै निस्किन थाले । ‘आज हेर्दा खासै किनिहालौं जस्तो माहोल बनेन म त अब घरतिर लाग्छु है साथी हो ।’ ती लगानीकर्ता त्यस्तो भन्दै निस्किए ।

उनलाई विदाई गर्दै महिला लगानीकर्ताले भनिन्, ‘ल जानुस, हामी त ३ बजेसम्मै बस्छौं, अब आजको बजारले खुशी बनाउँछ मन दुखाएर घर जानुपर्छ त्यसको लागि कारोबार बन्द हुँदासम्मै बस्नुपर्ला हामी ।’

केही समयपछि अर्की महिला लगानीकर्ता पनि आइन् र अन्यसँग गफिन थालिन् । उनले स्क्रिन बोर्डतर्फ हेर्दै भनिन्, ‘आज त सामान्य मात्रै बढेको छ, त ३ बजेसम्म त बढ्छ होला है मार्केट ।’ उनको जवाफ फर्काउँदै पहिलै नै बसिरहेकी अर्की महिला लगानीकर्ताले भनिन्, ‘बिहान न त झन बजार अझै बढेको थियो आशा देखाएको थियो तर विस्तारै–विस्तारै घट्दै गएको छ ।’

पछि आउने लगानीकर्ताले थपिन्, ‘बजार त बढेको जस्तो गर्छ फेरी बन्द हुने बेलामा घटेकै हुन्छ । बजार २ चोटी राम्रै अंकले बढ्दा पनि आफ्नो लगानीको साँवा समेत आएको छैन ।’

फेरी अर्की महिलाले भनिन्, ‘त्यहि त बजार बढ्न लागेजस्तो गर्छ, फेरी घटिहाल्छ अब आज हाइड्रो सेक्टर चलेकै छैन । बैंकिङ सेक्टरसँगै हाइड्रो पनि चल्न सक्यो भने मात्रै बजारले लय लिन्छ, नत्र त बजार यसरी नै अलमलिन्छ ।’

सेयरबाट होइन, दालभातबाटै गुजाराः लगानीकर्ताको कटाक्ष

अन्तिममा हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)मा पुग्यौं । त्यहाँपनि लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो । लगानीकर्ताहरु सेयरबजार भन्दा बढी बाहिरका विषयमा गफिदै थिए ।

कतै रिर्सोटमा गएर सेयरबजारको ‘ह्याङ आउट’ गर्ने लगानीकर्ताहरुको प्लान बन्दै थियो । कसैले स्विट्जरल्याण्ड पार्क जाने त कसैले नगरकोट जाने बताइरहेका थिए । एकजना लगानीकर्ताले ठट्यौली पारामा भने, ‘कि चन्द्रागिरी हिल्स जाने हो त साथी हो कम्पनीलाई योगदान गर्न ।’ उनको जवाफ फर्काउँदै अर्का लगानीकर्ताले भने, ‘त्यहाँ जाने हो भने त आधा लगानीकर्ताको सख्या घट्छ, त्यहि कम्पनीको सेयर किनेर घाटा खाइएको छ, अनि त्यहि कसरी जानु त ।’

लगानीकर्ताहरु यस्तै–यस्तै प्लान बनाउँदै थिए । एकछिनपछि एकजना लगानीकर्ताले भने, ‘ब्रोकर हाउस आउन पनि वाक्क लाग्न थालिसक्यो । जहिले आयो हल्ला गर्यो, उपलब्धी केही छैन बेकार टाइम पास जस्तो मात्रै भइरहेको छ ।’

अर्का लगानीकर्ताले थप्दै भने, ‘अरु केही नभएपनि दाल–भात त खाइएको छ, अरु के नै चाहियो र यो भन्दा बढी, अब सेयरबजारबाट टन्न कमाउन सकिएन त्यहि दालभातमै गुजारा चलेको छ त्यसमै चित्त बुझाउने त होला नि ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.