काठमाण्डौ। माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ३१ करोड ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ करोड १८ लाख ८० हजार रुपैयाँको तुलनामा करिब पाँच गुणा अर्थात ४१४.७९ प्रतिशतले बढी हो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो २० करोड ४७ लाख रुपैयाँ मात्र थियो। कम्पनीको सञ्चालन नाफा भने ७३ करोड ३२ लाखबाट घटेर ६९ करोड ५५ लाख रुपैयाँमा सीमित बनेको छ ।
यस अवधिमा कम्पनीको वित्त खर्च १६ करोड १८ लाखबाट बढेर १९ करोड ४१ लाख पुगेको छ ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी(ईपीएस) २३.३६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४.५४ रुपैयाँको तुलनामा उल्लेखनीय सुधार हो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६२.८८ रुपैयाँ, तरलता अनुपात ०.३२ गुणा र मूल्य–आम्दानी अनुपात ३४.२५ प्रतिशत कायम भएको छ।
कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ४२ लाख र कुल चालु दायित्व ६१ करोड ६१ लाख रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ्स तथा रिजर्भ ६८ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीका अनुसार बागमती साना जलविद्युत आयोजनाको पुनर्निर्माण सम्पन्न भएपछि विद्युत उत्पादन पुनः सुरु भएको र थप १० मेगावाट क्षमताको विस्तार परियोजनाबाट समेत उत्पादन सुरु भएकाले आम्दानी तथा नाफामा उल्लेखनीय सुधार आएको हो। साथै कम्पनीले हालसम्म ७९ करोड ४९ लाख रुपैयाँ बराबरको विद्युत बिक्रीको इनभ्वाइस जारी गरिसकेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।