काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पूर्ववत् जिम्मेवारीमा फर्किएका छन्। कम्पनीले एक सूचना जारी गर्दै साउन २१ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकको निर्णयअनुसार अर्याल पुनः कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन सुरु गरेको जानकारी दिएको हो।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८२ चैत १६ गते अर्याललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। सीआईबीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयर बाँडफाँड प्रक्रियामा अनियमितता तथा किर्ते गरेको आरोपमा अनुसन्धान अघि बढाएको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी सेयर बाँडफाँटसम्बन्धी विषयमा प्रारम्भिक अध्ययन गरी अनुसन्धानका लागि सीआईबीलाई प्रतिवेदन पठाएको थियो। सोही प्रतिवेदनका आधारमा प्रहरीले अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
उनी जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौको निणैयअनुसार चैत १६ गते रिहा भएका थिए । उनलाई जिल्ला अदालत काठमाण्डौले पाँच दिन हिरासतमा राख्न म्याद दिएको थियो । तर सरकारी वकिलको कार्यालयले दोस्रोपटक म्याद थप गर्न मानेको थिएन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।