आईतवार, श्रावण २४,२०८३ 04:55:51
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 04:55:51
Bizshala
Global IME Bank Limited

भदौसम्म एक दर्जन कम्पनीको लकइन अवधि सकिँदै, सेयर बजारमा ‘सेलिङ प्रेसर’को डर !

भदौसम्म एक दर्जन कम्पनीको लकइन अवधि सकिँदै, सेयर बजारमा ‘सेलिङ प्रेसर’को डर !
New Office

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक, कर्मचारी तथा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि छुट्याइएका सेयरको लकइन अवधि चाँडै सकिँदैछ ।  

भदौ मसान्तसम्म एक दर्जन कम्पनीको ‘लकइन पिरियड’ सकिँदैछ, जसकारण पछिल्लो केही समययता उक्त कम्पनीहरुको सेयर कारोबारमा निकै चहलपहल देखिन थालेको छ ।  

संस्थापक, कर्मचारी तथा म्युचुअल फण्डलाई छुट्याइएको सेयरको लकइन खुलेपछि दोस्रो बजारमा उक्त कम्पनीहरुको सेयर थप आपूर्ति हुने भएको छ । लकइन खुलेपछि सम्बन्धित सेयरधनीले कारोबार गर्न पाउने भएकाले दोस्रो बजारमा बिक्री चाप बढ्न सक्ने देखिएको छ ।  

एक दर्जन कम्पनीको लकइन अवधि सकिँदै जाँदा सेयर बजारमा बिक्री चापको त्रास पनि देखिन थालेको छ । ठूलो परिमाणमा सेयर कारोबारयोग्य हुने खबरसँगै लगानीकर्ताबीच ‘लकइन खुलेपछि संस्थापक तथा अन्य ठूला सेयरधनीले सेयर बेच्ने हुन् कि?’ भन्ने चिन्ता बढेको हो ।

लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले कानूनी तथा नियामकीय व्यवस्थाअनुसार आफ्नो सेयर बिक्री गर्न सक्ने भएकाले बजारमा सम्भावित आपूर्तिको आकार बढ्छ। यही सम्भावित आपूर्तिलाई लिएर लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना हुने गरेको छ ।

विशेषगरी ठूलो संख्यामा संस्थापक सेयर लकइनबाट बाहिर आउँदा बजारमा त्यसको असर बढी पर्ने अनुमान गरिन्छ । तर लकइन खुलेको सम्पूर्ण सेयर तत्काल बिक्रीमा आउने भने होइन। सेयर बिक्री गर्ने वा नगर्ने निर्णय सम्बन्धित सेयरधनीमा निर्भर हुन्छ ।

नियामकीय व्यवस्थाअनुसार कुनै पनि कम्पनीले सेयर निष्कासन गरेपछि सामूहिक लगानी कोषका लागि ६ महिना र संस्थापक र कर्मचारीका लागि छुट्याइएको सेयरमा ३ वर्ष लकइन पिरियड लागू हुनेछ ।  

साउन र भदौ महिनाभित्रमा म्युचुअल फण्डतर्फको लकइन अवधि सकिने कम्पनीहरुमा भुजुङ्ग हाइड्रोपावर, रिलायन्स स्पिनिङ्ग मिल्स, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, रिज लाइन इजर्नी, सुपर खुदी हाइड्रो र पाल्पा सिमेन्ट कम्पनी छन् ।  

त्यस्तै, संस्थापक र कर्मचारीतर्फको लकइन पिरियड सकिनेहरुमा भने अप्पर लोहरे खोला हाइड्रो, मनकामना इन्जिनियरिङ्ग हाइड्रो, भगवती हाइड्रो, माण्डू हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छन् ।  

उक्त मध्ये रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापकतर्फको ठूलो परिणामको सेयर लकइनबाट बाहिर आउँदैछ ।  

बिक्री चापको सम्भावनाले सेयरमूल्यमा दबाब !

लकइन अवधि समाप्त हुँदै जाँदा उक्त कम्पनीहरुको सेयरको बिक्री चाप पनि बढ्दै जाने देखिन्छ । दोस्रो बजारमा म्युचुअल फण्ड र संस्थापकतर्फको लक रहेको सेयर फुकुवा हुने समय छोटिदै जाँदा बजारमा बिक्री दबाब पर्ने सम्भावना बढ्दै जान्छ ।  

जति–जति लकइन पिरियड नजिकिँदै जान्छ तब दोस्रो बजारमा सर्वसाधारण लगानीकर्तामा प्यानिक बढ्दै जान्छ । संस्थापकहरु बजारमा आउने बित्तिकै सेयर बेचेर उम्किने मनसायले सर्वसाधारणले समेत आफुसँग भएको सेयर फाल्ने प्रवृत्ति बजारमा छ । यस्तै अवस्थाले गर्दा बजारमा बिक्री चाप बढेर मार्केटको ‘दिगोपन’मा नै प्रभाव पार्ने देखिन्छ ।  

विगतमा दिनहरुमा पनि लकइन पिरियड सकिएका कम्पनीको धेरै ‘सेलिङ प्रेसर’ आउने र मूल्य समेत ह्वात्तै घट्ने अवस्थाको छाप छ । नियमअनुसार यो स्वभाविक पनि हो । बजारमा कित्ता संख्या धेरै वा फालाफाल भएपछि त्यसको मूल्य स्वतः घट्न पुग्छ ।  

लकइन अवधि समाप्त हुनु आफैंमा सम्बन्धित सेयरधनीले सबै सेयर बेच्ने संकेत भने होइन तर कारोबारमा रहेको सेयरको संख्या बढ्ने भएकाले बजारको आपूर्ति पक्षमा भने प्रभाव पर्न सक्छ । विशेषगरी संस्थापक समूहको ठूलो परिमाणको सेयर एकैपटक कारोबारयोग्य हुँदा त्यसको केही हिस्सा बिक्रीमा आएमा सम्बन्धित कम्पनीको सेयर मूल्यमा दबाब पर्न सक्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.