सोमबार, श्रावण २५,२०८३ 06:40:28
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 06:40:28
Bizshala
Global IME Bank Limited

'GROUND ZERO' : सेयरबजारमा कारोबार सुस्त, ब्रोकर हाउसमा लगानीकर्ता खोज्दा भेटिँदैनन् !

Prabhu Bank Limited
'GROUND ZERO' : सेयरबजारमा कारोबार सुस्त, ब्रोकर हाउसमा लगानीकर्ता खोज्दा भेटिँदैनन् !
New Office

काठमाण्डौ । पछिल्ला समय सेयरबजारप्रति लगानीकर्ताको उत्साह घट्दै गएको छ । जसकारण बजारमा कारोबार रकम समेत अपेक्षाअनुसार बढ्न सकिरहेको छैन ।  

सरकारको धरपकड र गतिविधिका कारण लगानीकर्ताको कन्फिडेन्ट लो भएको अवस्था छ । कमजोर मनोबल, कारोबारमा आएको सुस्तता र बजारप्रतिको अनिश्चितताले बजारले लय लिन सकेको छैन ।  

केही दिनअघि सेयर बजार बढ्दा ब्रोकर हाउसहरूमा लगानीकर्ताको सहभागिता पुनः बाक्लिएको थियो । बजार बढ्ने क्रमसँगै ब्रोकर हाउसमा देखिएको चहलपहलले लगानीकर्ताको मनोबलमा सुधार आएको संकेत गरेको थियो। तर, पछिल्ला दिनमा बजारको गति कमजोर भएसँगै ब्रोकर हाउसमा लगानीकर्ताको सहभागिता पनि फेरि घट्न थालेको छ ।

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार काठमाडौंको बागबाजर, घट्टेकुलो र अनामनगर क्षेत्रका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो ।

बजार बढ्दा लगानीकर्ताको सहभागिता बढ्ने र बजार सुस्ताउँदा सहभागिता घट्ने प्रवृत्तिले पनि अहिले लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रूपमा बलियो भइनसकेको देखाएको छ । बजारमा दिगो सुधारका लागि सूचकांकमा हुने सामान्य वृद्धि मात्र नभई कारोबारमा निरन्तरता र बलिया कम्पनीमा लगानीकर्ताको विश्वास बढ्नुपर्ने देखिएको छ ।

सेयरभन्दा राजनीतिक गफ, लगानीकर्तामा छैन बजारको उत्साह !

सर्वप्रथम हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)मा पुग्यौं । नेप्से परिसूचक झिनो अंकले बढेको थियो । लगानीकर्ताहरुको सहभागिता बिस्तारै बाक्लिदै थियो ।  

इम्पेरियलमा लगानीकर्ताहरुको संख्या बाक्लिएपनि सेयरबजारभन्दा बाहिरका विषयमा बढी गफिएका थिए । बजारले भनेजस्तो मोमेन्टम लिन नसक्दा लगानीकर्ताहरु बजारप्रति उत्साहित देखिन्नथे ।  

केही समयपछि बजार घट्न थाल्यो र नेप्से परिसूचक रातो रङमा परिणत भयो । लगानीकर्ताहरु सामाजिक र राजनीतिक विषयमा केन्द्रित थिए । केही समयपछि सेयरबजारको बहस सुरु हुन थाल्यो ।  

एकजना लगानीकर्ता बजार सम्हालिने वा बजारमा एउटा राम्रै ‘स्विङ’ आउन सक्ने अनुमान लगाउँदै थिए । केही लगानीकर्ता भने नयाँ वा हाइड्रो सेक्टरका कम्पनीहरुमा आँखा लगाउँदै थिए ।  

त्यत्तिकैमा एकजना लगानीकर्ताले भने, ‘शेर बहादुर देउवा नेपाल आउने कुरा छ त के हो साथीहरु, देउवा आयो भने त सेयरबजार झनै घट्छ होला’ उनले ठट्यौली पारामा भन्दै थपे, ‘उनी पनि रास्वपा जस्तै पूँजीबजारको लागि पनौती जस्तै छन्, बजार झनै घट्छ होला ।’

एकछिनपछि दायाँ साइडमा बसेका अर्का लगानीकर्ताले भने सांसद हरि ढकालको प्रंसग उठाउँदै रिस पोखे । ‘यो हरि ढकाल पनि सांसद हुनुभन्दा अघि सेयर लगानीकर्ता नै हो नि, सेयरबजारको विषय उठान गर्नु छैन उट्पट्याङ कुरा निकाल्दै बस्या छ’ ती लगानीकर्ताले भने, ‘अब सिंहदरबारको नाम किन परिवर्तन गर्नुपर्यो ? अनि अहिलको सन्दर्भमा यो जरुरी छ र ? खुरुक्स पूँजीबजारको विषयलाई केन्द्रीत गर्न सकिन्थे न ?  

सरकारप्रति अविश्वासदेखि ‘सेयर खेलाडी’को आशंकासम्म !

बजार सामान्य अंकले घटेको थियो । त्यसपछि हामी अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा गयौं । सँधै बाक्लो उपस्थिति रहने उक्त ब्रोकर हाउसमा आज भने जम्मा दुईजना लगानीकर्ता मात्रै थिए ।  

ती दुईजना लगानीकर्ता सरकारको गतिविधिका कारण बजार नसकेको विषयमा गुनासो गर्दै थिए । एकजना लगानीकर्ताले भने, ‘अहिलेको सरकारलाई लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन्, न त सरकारले लगानीकर्ताको मनोबल बढाउने काम नै गर्न सकेको छ । अब हेर्दै गर्नुहोस् दशैंअघि बजार घटेर तल गयो भने दशैंपछि अब बालेन प्रधानमन्त्री हुँदैनन् ।’

उनको कुरालाई सहमति जनाउँदै अर्का लगानीकर्ताले थपे, ‘त्यहि त सिनारियो हेर्दा त बजार अझै तल जान्छ होला जस्तो छ, त्यहिमाथि केही सेयर खेलाडी पनि सक्रिय छन्, हाम्रो सेयर कित्ता खाएर भाग्ने भो ।’

उनले थपे, ‘अब यो सोलु हाइड्रोपावरको सेयर दुईतिन दिनयता बढीरहेको छ, यो स्क्रिप्टमा खेलाडीहरु सक्रिय छन् । अब यो स्क्रिप्ट पनि बढाएर सकियो विस्तारै घट्दै जान्छ र सोझाहरु यस्तै स्क्रिप्टमा फस्छन् ।’

घट्टेकुलो र बागबजारमा सन्नाटा !

त्यसपछि हामी घट्टेकुलोस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं.३४) र बागबजारस्थित अनलाईन सेक्युरिटिज (ब्रोकर  नं. ४९)मा गएका थियौं ।  लगानकिर्ताको सँधै बाक्लोे उपस्थिति रहने उक्त ब्रोकर हाउसहरु आज खाली देखिन्थे ।  

केही समयको प्रतिक्षामा पनि लगानीकर्ताहरु राम्रो उपस्थिति थिएन । भिजनमा दुई तिनजना लगानीकर्ता भएपनि एकआपसमा भलाकुसारी थिएन । आ–आफ्नै मोबाइलमा व्यस्त देखिन्थे ।  

त्यस्तै, अनलाईन सेक्युरिटिजमा पनि अवस्था उस्तै थियो । एकदुईजना मात्रै लगानीकर्ता सहभागी भएपनि एकआपसमा कुराकानी थिएन । एकजना लगानीकर्ता सोही ब्रोकर हाउसकै कर्मचारीसँग केही स्क्रिप्टका विषयमा मात्रै कुरा गरेपनि समग्र पूँजीबजारबारे विषय भने निस्किएको थिएन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.